आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज नरक चतुर्दशी, कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाइँदै

आज नरक चतुर्दशी, कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाइँदै

नागरिक पाटी

३, कार्तिक २०८२
  • 2.3K
    SHARES
  • आज नरक चतुर्दशी, कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाइँदै

    नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

    images

    कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा. देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।

    कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

    वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्या समेत बढ्न थालेको छ ।

    नरक चतुर्दशी

    आज कात्तिक कृष्ण चतुर्दशीका दिन बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउने गरिन्छ । यसो गर्नाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताए। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

    यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत रहेको आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउँछन् । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

    दिप प्रज्वलन गरी लक्ष्मीपुजा मनाइँदै

    बिहीबार साँझ नै घरघरमा दिप प्रज्वलन गरी लक्ष्मीपुजा समेत मनाइँदैछ । दिउँसो ३ बजेर १३ मिनेट पश्चात औसी लाग्ने र लक्ष्मीपुजा औसीको साँझ गर्ने विधान भएकाले बिहीबार नै लक्ष्मीपुजा परेको हो । शुक्रबार साँझ ५ बजेर १५ मिनेटसम्म औसी तिथि रहेको छ । औसीको साँझमा दीपावली सहित धनकी देवी लक्ष्मीको पुजा गर्ने परम्परा छ । यो दिनलाई तिहारको महत्वपूर्ण दिनको रुपमा लिइन्छ ।

    यस दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धनधान्ययुक्त हुने, समृद्धि प्राप्त हुने पुराणमा उल्लेख छ । औसीको रातमा लक्ष्मीके उत्पत्ती भएकाले यस दिन उनको पुजा आराधना गर्र्ने गरिएको हो । सफासुग्घर र उज्यालो भएको ठाउँमा मात्र लक्ष्मीको प्रवेश हुने जनविश्वासका साथ आज घरआँगन, कोठाचोटा, सफासुग्घर पारी लिपपोत गर्ने, घरको ढोका र झ्यालमा माला र तदी र मन्दिरमा तोरण टाँग्ने चलन रहिआएको छ । साँझ परेपछि आँगनदेखि पुजाकोठीसम्म लक्ष्मीको पाइला बनाएर दीपावली गरिन्छ । दीप कलश गणेशको पुजा गरी धनका देवता कुवेर सहित समृद्धिको देवी लक्ष्मीको पूजा गरेर प्रसन्न पार्न श्रीसुक्त पाठ गरिन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०८२ सोमवार - ०७:३०:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology