धादिङको धुनिवेशीमा गोरखनाथ कल्याण केन्द्र नेपालद्धारा शुभकामना आदानप्रदान तथा समिति पुनर्गठन गरिएको छ । धुनिवेशी नगरपालिका वडा नम्बर ५ विजयपुरस्थित गोरखनाथ मन्दिर प्राङ्गणमा गोरख संवत् २८१९ नयाँ वर्ष तथा उत्पत्तिका एकादशीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा समिति पुनर्गठन गरिएको हो ।
कार्यक्रममा धुनिबेशी नगरपालिका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण आचार्यले शुभकामना दिनु हुँदै मन्दिर निर्माण कार्यको सुरुवातदेखी नै आफ्नो तर्फबाट सहयोग रहेको बताउनुभएको छ । उहाँले मेयर हुँदा वा नहुँदा पनि आफु सँधै मन्दिरको संरक्षणका लागि तत्पर रहेको पनि बताउनुभएको छ ।
उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख सुरज उप्रेतीले हिजोका दिनमा नगरपालिकाले सकेको सहयोग गरेको र अब भोलिका दिनमा पनि आवश्यक कामका लागि सहयोग रहने बताउनुभयो ।
यस्तै धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराईले आफु र वडाको तर्फबाट गर्नुपर्ने कुनै पनि काम कन्जुस्याँई नगरी गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा धार्के शाखा समितिको पुनर्गठन पनि गरिएको छ । पुर्नगठित समितीको अध्यक्षमा जनक भुजेल चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा आत्माराम चापागांई, सचिवमा राजन रेग्मी, कोषाध्यक्षमा राजेश रेग्मी चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा जनक रूपाखेती, अरुण मानन्धर, बिन्दा लुइँटेल, राजेन्द्र उप्रेती, र अमृत उप्रेती चयन हुनुभएको छ ।
गोरखनाथ कल्याण केन्द्र नेपालका केन्द्रिय अध्यक्ष अर्जुन रेग्मीले समापन गर्नु भएको कार्यक्रम लक्ष्मी भुजेलले सञ्चालन गर्नुभएको थियो ।