धादिङ । गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गल्छिको वडा नम्बर ४ मा रहेको धादिङ बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य गरेका छन् भने सबै विद्यालयका विद्यार्थीहरु मार्चपासमा पनि सहभागी भएका थिए । समारोहमा बोल्दै कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुले शुभकामना पनि व्यक्त गरेका छन् ।
प्रतियोगिताभर पालिका भित्रका १५ वटा विद्यालयका ४ सय ७२ जना विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाउने गल्छी गाउँपालिकाका शिक्षा अधिकृत धिरज बस्नेतले जानकारी दिए । भलिबल प्रतियोगिता गरेर सुरु भएको प्रतियोगिता यहि पौष १३ गते सम्म सञ्चालन हुनेछ ।
गल्छी गाउँपालिकाको सामाजिक विकास समितीका सँयोजक दिपक कुमार कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै पालिका उपाध्यक्ष भाईकाजी तिवारी र जिल्ला समन्वय समितीका पुर्व प्रमुख जगन्नाथ नेपालको विशेष आतित्थ्यता रहेको थियो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलाल लगायत विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरु, विभिन्न विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरु, विभिन्न सँघसँस्थाका प्रमुख तथा प्रतिनिधीको आतित्थ्यता रहेको थियो ।