धादिङको गल्छी गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि द राइजिङ भिलेज इङलिस स्कुलले जितेको छ । गल्छी गाउँपालिका–६ मा अवस्थित यस स्कुलले ९ स्वर्ण पदक, ६ रजत ३ कास्य गरी १८ पदकसहित उपाधि हात पारेको हो।
त्यसैगरी प्रतियोगितामा गल्छी गाउँपालिका-६ मा अवस्थित सक्सेस एकेडेमीले द्वितीय स्थान हासिल गरेको छ । ६ स्वर्ण पदक, २ रजत २ कास्य गरी १० पदक सहित दोस्रो स्थान हासिल गरेको हो । गल्छी गाउँपालिका-५ मा रहेको अमन्तादेवी माध्यमिक विद्यालयले ५ स्वर्ण ५ रजत ९ कास्य गरी १९ पदकसहित तृतीय बनेको छ ।
प्रतियोगितामा गल्छी गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी १५ विद्यालयहरुको सहभागिता रहेको थियो। एथलेटिक्स, दौड, भलिबल, कबड्डी लगायतका विभिन्न खेल विधामा सम्पन्न प्रतियोगितामा समग्र रूपमा ३० स्वर्ण, ३० रजत र ३० कास्यगरि ९० वटा पदक वितरण गरेको हो ।
विद्यार्थी खेलाडीहरूले देखाएको प्रतिस्पर्धात्मक क्षमता, अनुशासन र खेल भावना प्रशंसनीय रहेको आयोजकले गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बताए ।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षा शाखाका अधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।