माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै देवघाटमा झोलुङ्गे पुल मर्मत गरिएको छ । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाम अवस्थित चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य आजदेखि सुरु गरिएको छ ।
दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का अध्यक्ष एवं प्रवक्ता पूर्णबहादुर कुँवरले जानकारी दिए ।उनले देवघाटकै पुरानो झोलुङ्गे पुलको मर्मतसम्भार ‘सस्पेन्सन ब्रिज’ ललितपुर कार्यालयमार्फत गरिन लागेको जानकारी गराउँदै मर्मत कार्यलाई सहज बनाउन सहयोग गर्न अनुरोध गरे । उनले भने, “दिउँसोको समयमा पुलको आवतजावतमा रोक लगाएर मर्मत कार्य सुरु गरिएको हो । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै जोखिमको आधारमा भीड व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइने उनले बताए ।
निर्देशक बरालले माघे सङ्क्रान्ति मेलाको तयारीमा सबै पक्ष जुटिरहेको जानकारी दिए । मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरी काम भइरहेको उनले बताए। देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला सबैभन्दा बढी भक्तजन आउने मेला भएकाले सुरक्षा व्यवस्थाका तथा मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका तथा चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन र सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको निर्देशक बरालले बताए ।
माघे सङ्क्रान्तिमा यही पुल हुँदै आवतजावत गर्ने भक्तजनको सङ्ख्या धेरै हुने र पुल जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाइएको उनले उल्लेख गरे । देवघाट गाउँपालिका–५ का अधिकांश स्थानीयवासी चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रूपमा यही पुल प्रयोग गर्दै आएका छन् ।