धुनिबेशी नगरपालिकामा माघ २८ र २९ गते एच.पि.पि.भी. खोप लगाइने भएको छ । नगरपालिकामा भएको पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीको अभिमुखीकरण बैठकमा २ सय ४३ जना बालिकाहरूलाई एच.पि.भी. खोप लगाइने जानकारी गराइएको हो ।
नगरपालिकाका जनस्वास्थ्य अधिकृत धुव्र कुमार अधिकारीका अनुसार विभिन्न विद्यालयको कक्षा ६ मा अध्ययनरत २ सय ३० जना छात्रा, विद्यालय नजाने १० वर्षका किशोरीहरू २ जना, कक्षा ७ देखि १० कक्षा अध्ययनरत ७ जना छात्रा, ११ देखि १४ वर्ष उमेरका ४ जना छात्रा गरी जम्मा २ सय ४३ जना बालिकालाई माघ २८ र २९ गते खोप लगाइनेछ ।
सिनियर अहेव हेमन्त प्रसाद सुवेदीले सहजिकरण गर्नुभएको बैठकमा जनस्वास्थ्य अधिकृत अधिकारीले एच.पि.भी. खोपको अभियान, नेपालको अवस्था, यसको लक्षण, रोकथाम र निवारणको लक्ष्य लगायतको बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
उक्त अभिमुखीकरण बैठकमा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले लक्षित उमेर समूहका बालिकाहरूलाई खोप लगाउन आग्रह गर्नुभएको छ । उहाँले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप लगाउन स्वास्थ्यकर्मी, अभिभावक तथा विद्यालयको सक्रियता रहनुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा नगरपालिकाको उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार खनाल लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।