धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सञ्चालन भइरहेको शिक्षामा पहुँच सुनिश्चितता (सेफ) परियोजनाको पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले चाईल्डफण्ड जापान (ChildFund Japan) को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय वृद्घि सुधार गर्ने उद्देश्यसहित वडा नम्बर ६, ८ र १० का विद्यालयहरुमा सञ्चालन गरिरहेको सेफ परियोजनाको बुधबार सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित बैठकमा परियोजनाले पछिल्लो एक वर्षको अवधिमा सञ्चालन गरेका कार्यक्रमहरूको समिक्षा गरिएको थियो। बैठकमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षामा पहुँच बढाउने, गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने तथा समुदायको सहभागिता अभिवृद्धि गर्ने विषयमा भएका कामहरूको समीक्षा गरिएको हो।

बैठकमा सहभागीहरूले परियोजनामार्फत बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाइ वातावरण सुधार गर्ने तथा अभिभावक र समुदायलाई शिक्षाप्रति सचेत बनाउने काममा थप प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यसैगरी बैठकमा आगामी वर्षमा सञ्चालन गरिने कार्यक्रम तथा योजनाका बारेमा समेत छलफल गरिएको थियो। शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न पालिका, विद्यालय, समुदाय र सरोकारवाला निकायबीच समन्वय गरी काम गर्ने विषयमा जोड दिइएको परियोजना प्रबन्धक सन्तोष सत्यालले बताउनु भयो।

बैठकमा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामबाबु पौडेल,शिक्षा अधिकृत बोधराज पाठक, प्रशासन शाखा, योजना तथा अनुगमन शाखा प्रमुख परशुराम घिमिरे, श्रोत व्यक्ति रामेश्वर पोखरेल, प्रयास नेपालका अध्यक्ष विर बहादुर श्रेष्ठ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्याल लगाएत गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारी, परियोजनासँग सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो।