धादिङको गल्छी गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि जिल्लामै पहिलो पटक एक नयाँ अभ्यास सुरु गरेको छ । गाउँपालिकाले आधारभूत तह (कक्षा ३) मा अध्ययनरत विद्यार्थीहरूको सिकाइ स्तर परीक्षण गर्न ’स्तर मापन परीक्षा’ सञ्चालन गर्ने भएको हो ।
गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचना अनुसार चैत १६ गते सोमबारका दिन पालिकाभरिका सामुदायिक विद्यालयहरूमा एकैसाथ यो परीक्षा सञ्चालन गरिनेछ ।
बिहान १०ः१५ बजेदेखि १ः१५ बजेसम्म सञ्चालन हुने उक्त परीक्षामा कुल १०० पूर्णाङ्क रहनेछ । जसमा अंग्रेजी, गणित, नेपाली, सेरोफेरो र ’हाम्रो गल्छी’ गरी पाँचवटा मुख्य विषयहरूलाई समावेश गरिएको छ । यी प्रत्येक विषयका लागि समान २०–२० पूर्णाङ्क निर्धारण गरिएको शिक्षा शाखाले जनाएको छ ।
यस्तै परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन गाउँपालिकाले विशेष तयारी गरेको छ । शिक्षा अधिकृत धिरज बस्नेतद्वारा जारी सूचना अनुसार, आधारभूत तह (कक्षा ५ र ८) को परीक्षा केन्द्र कायम भएका विद्यालयहरूमा सोही केन्द्राध्यक्ष र निरीक्षकहरूले परीक्षा सञ्चालन गर्नेछन् । अन्य विद्यालयहरूको हकमा भने आवश्यकता अनुसार थप केन्द्राध्यक्ष र निरीक्षकहरू खटाउने व्यवस्था मिलाइएको छ ।