धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा मच्छिन्द्र बहुमुखी क्याम्पसको १५औँ क्याम्पस सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पूर्व उपकुलपति प्रा.
डा.प्रेम नारायण अर्यालले क्याम्पसको शैक्षिक तथा संस्थागत विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।
क्याम्पसका अध्यक्ष रघुनाथ पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख प्रमोद पाठकले स्वागत मन्तव्य राख्दै सामुदायिक क्याम्पसलाई गुणात्मक ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले मच्छिन्द्र क्याम्पसमा नयाँ र आकर्षक विषय थप्न नसक्दा विद्यार्थी आकर्षण बढाउन चुनौती भएको बताए।

उनले त्रिभुवन विश्वविद्यालयका कुल विद्यार्थीमध्ये करिब ४० प्रतिशत विद्यार्थी सामुदायिक क्याम्पसबाट प्रतिनिधित्व भए पनि विश्वविद्यालयले सामुदायिक क्याम्पसलाई उचित सम्बोधन गर्न नसकेको गुनासो गरे। साथै, स्थानीय तहले जनशक्तिमा लगानी गर्नुपर्ने र बुहारी छात्रवृत्तिसँगै छोरी छात्रवृत्ति पनि सुरु गर्नुपर्ने धारणा राखे।
धुनिवेशी नगरपालिकाले केही वर्षदेखि बुहारी शिक्षा छात्रवृत्ति सञ्चालन गर्दै आएको जानकारी कार्यक्रममा दिइयो। हाल क्याम्पसमा १८८ जना विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा स्ववियु सभापति समीर पाठक, विद्यार्थी करुणा क्षत्री, पूर्व अध्यक्षहरू बच्चुराम उप्रेती र मुकुन्द थापालगायतले क्याम्पसका समस्या, सम्भावना र सुधारका विषयमा आ-
आफ्ना धारणा राखेका थिए।
विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा अध्यक्ष रघुनाथ पाठकले आफ्नो कार्यकालमा सकेको योगदान दिएको उल्लेख गर्दै क्याम्पसको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको बताए।