धुनिवेशी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले नगरपालिकाको आफ्नै मौलिक पहिचान झल्किने प्रतीक चिन्ह (लोगो) निर्माण गर्न इच्छुक व्यक्ति तथा संस्थासँग प्रस्ताव माग गरेको छ। नगरसभाको निर्णय तथा लोगो निर्माण समितिले निर्धारण गरेका आधारहरू अनुसार लोगो तयार गरी १५ दिनभित्र पेश गर्न सूचना जारी गरिएको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार लोगोमा धुनिवेशी नगरपालिकाको नाम, नक्सा र नेपालको झण्डा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। साथै धार्मिक, जातीय वा साम्प्रदायिक विभेद झल्किने कुनै पनि संकेत वा प्रतिक प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
लोगोमा नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूलाई सांकेतिक रूपमा समेट्नुपर्नेछ। विशेषगरी भष्मेश्वर महादेव, बालाजुगी मन्दिर, कृष्ण मन्दिर, गोरक्षनाथ बाबा धाम, कालिदेवी मन्दिर, धुनिवेशी पार्क, तीन छहरे झरना लगायतका क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
त्यस्तै, नगरपालिकाको पहिचानका रूपमा रहेको तरकारीबाली, सुन्तला र चुकुको प्रतिविम्ब समेत समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथलाई पनि सांकेतिक रूपमा प्रस्तुत गर्नुपर्ने जनाइएको छ।
प्रस्ताव पेश गर्दा लोगोको व्याख्यात्मक टिप्पणीसहित ईमेलमार्फत पठाउनुपर्नेछ। उत्कृष्ट लोगो छनोट हुने व्यक्ति वा संस्थालाई रु. ४० हजार पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ।
प्रस्ताव [email protected] मा पठाउन सकिने बताईएको छ ।
यस्तो छ, सुचना :