धादिङको थाक्रे गाउँपालिकामा प्रथम थाक्रे बाल महोत्सव सुरु भएको छ। बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव १७ गतेसम्म सञ्चालन हुने भएको छ।

थाक्रे गाउँपालिकाको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी सहभागी हुनुभएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा,कार्यत्रलममा प्रशासकिय अधिकृत बलराम लम्साल,विभिन्न वडाका वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख दुर्गा देवि खड्का,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुले बालबालिकाको क्षमता विकास र सिर्जनशील शिक्षाको महत्वबारे शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

महोत्सवमा थाक्रे गाउँपालिकाभित्रका ४२ वटा विद्यालयको सहभागिता रहेको छ। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने विभिन्न प्रतियोगिता, सांस्कृतिक प्रस्तुति तथा विज्ञान प्रदर्शनी समावेश गरिएको छ। साथै विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

बालबालिकामा सिर्जनशील सोच, नेतृत्व विकास तथा व्यवहारिक शिक्षाको प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। महोत्सवको सञ्चालन पत्रकार शिवराज आचार्यले गर्नुभएको थियो।
