धादिङको गल्छी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय बाल सञ्जाल तथा वडा बालमैत्री सहजकर्ताहरूका लागि आयोजित २ दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
“बाल सहभागिता, बाल नेतृत्व र बालमैत्री स्थानीय शासनको आधार” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिममा २७ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण रेडियो राजमार्ग ९२.१ मेगाहर्जका स्टेशन म्यानेजर तथा नागरिकपाटी डटकमका सञ्चालक आशिष ठकुरी र पत्रकार शिवराज आचार्यले गर्नुभएको थियो ।
तालिममा सहभागीहरूलाई परिचयकला, उद्घोषण, उद्घोषकको भूमिका, भाषणकला, समाचार लेखन तथा वाचन, कार्यक्रम उत्पादन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । साथै कार्यक्रम सञ्चालन, समाचार वाचन तथा सार्वजनिक प्रस्तुतीकरणसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको पालिका बालमैत्री सहजकर्ता विपिन मल्लले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि धिरज बस्नेतले यस्ता तालिमले बालबालिकाहरूको बोल्ने कला, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह समेत गर्नुभयो ।
बालबालिकाको नेतृत्व विकास, सञ्चार सीप अभिवृद्धि तथा बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तालिमबाट सहभागीहरू लाभान्वित भएको आयोजकले जनाएको छ ।