धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको नृसिंहधाममा आयोजित पुरुषोत्तम महामहोत्सवबाट ४ करोड ४४ लाख ४२ हजार ८ सय ९९ रुपैयाँ सङ्कलन भएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा नृसिंहधाम विकास समितिले आय–व्यय विवरण सार्वजनिक गर्दै ३ करोड ९७ लाख ३७ हजार ८ सय ९९ रुपैयाँ दान र ४७ लाख ५ हजार रुपैयाँ प्रतिबद्धता गरी उक्त रकम सङ्कलन भएको जनाएको हो।
विकास समितिका कोषाध्यक्ष विष्णुहरी उप्रेतीका अनुसार महामहोत्सव सञ्चालनका क्रममा १ करोड ५५ लाख ८१ हजार ३५ रुपैयाँ खर्च भएको छ भने खर्च कटाएर २ करोड ८८ लाख ६१ हजार ८ सय ६४ रुपैयाँ बचत भएको छ।
पत्रकार सम्मेलनमा सञ्चार क्षेत्रमा ३२ लाख रुपैयाँ खर्च भएको विवरणबारे पत्रकारहरूले प्रश्न उठाएका थिए। एउटै टेलिभिजनलाई २६ लाख रुपैयाँसम्म भुक्तानी गरिएको भए पनि धादिङका स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकतामा नराखिएको भन्दै गुनासो समेत गरिएको थियो।
पुरुषोत्तम महिनाको अवसरमा जेठ महिनाभर सञ्चालन गरिएको महामहोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारतलगायत अन्य देशबाट आएका भक्तजनहरूले दर्शन गरेका थिए। पीठाधीश डा। श्रीवास कृष्णदास ब्रह्मचारीका अनुसार एक महिनासम्म चलेको महामहोत्सवमा करिब ३३ लाख भक्तजनले नृसिंहधामको दर्शन गरेका छन्।