आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बेनीघाट रोराङ गाउँपालिकाद्धारा ९१ करोड ९९ लाखको बजेट विनियोजन

बेनीघाट रोराङ गाउँपालिकाद्धारा ९१ करोड ९९ लाखको बजेट विनियोजन

शिवराज आचार्य

९, आषाढ २०८३
  • 1.3K
    SHARES
  • बेनीघाट रोराङ गाउँपालिकाद्धारा ९१ करोड ९९ लाखको बजेट विनियोजन

    धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ९१ करोड ९९ लाख रुपैयाँभन्दा बढीको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ।

    images

    १९औँ गाउँसभाबाट सर्वसम्मत रूपमा पारित बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र डिजिटल सुशासनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयबाट १५ करोड ९२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। बजेटका मुख्य स्रोतका रूपमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड र विभिन्न अनुदानलाई लिइएको छ।

    १९औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले राष्ट्रिय आकांक्षालाई स्थानीय तहबाट कार्यान्वयन गर्ने उद्देश्य राखेको छ। आगामी वर्ष उत्पादनमुखी अर्थतन्त्र निर्माण, गरिबी न्यूनीकरण, सामाजिक न्याय, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा डिजिटल सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ।

    728783797_2036272837010974_3871093512396601853_n.jfif

    कृषि क्षेत्रतर्फ उत्पादन वृद्धि, साना सिँचाइ आयोजना सञ्चालन, किसान परिचयपत्र वितरण, कृषि बीमा, कृषि आधुनिकीकरण तथा युवा कृषि स्टार्टअप कार्यक्रमलाई प्राथमिकता दिइएको छ। स्थानीय उत्पादनको बजारीकरण, कृषकको आय वृद्धि र कृषि क्षेत्रलाई रोजगारीको आधार बनाउने नीति लिइएको छ।

    शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षामा जोड, आवासीय विद्यालय स्थापना तथा “पढ्दै कमाउँदै, कमाउँदै पढ्दै” कार्यक्रम सञ्चालन गरिने भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण सिकाइ तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा पनि बजेट विनियोजन गरिएको छ।

    730109673_1032488582787371_5678968042015301110_n.jfif

    स्वास्थ्य क्षेत्रतर्फ सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, आधारभूत स्वास्थ्य संस्थाको सुदृढीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार र स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने नीति लिइएको छ।

    पूर्वाधार विकासअन्तर्गत सडक, खानेपानी, सिँचाइ, सार्वजनिक भवन तथा अन्य आधारभूत संरचनाको निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइने भएको छ। साथै वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् जोखिम व्यवस्थापन तथा प्राकृतिक स्रोतको दिगो उपयोगलाई समेत प्राथमिकतामा राखिएको छ।

    गाउँपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण, डिजिटल सेवा प्रवाहको विस्तार, सार्वजनिक प्रशासनलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने नीति पनि अघि सारेको छ। भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सुशासन प्रवद्र्धनमा जोड दिइएको छ।

    यस्तै सूचना प्रवाहलाई प्रभावकारी बनाउन वेबसाइट, सामाजिक सञ्जाल, बुलेटिन र सूचना पाटीमार्फत सार्वजनिक सूचना नियमित रूपमा प्रकाशन गरिने भएको छ। टोल विकास संस्था, आमा समूह, कृषि समूह, बाल तथा युवा क्लबमार्फत सामुदायिक विकास र सामाजिक जागरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

    “छिटो सेवा, मिठो व्यवहार, सेवाग्राहीको सन्तुष्टि नै हाम्रो आधार” भन्ने मूल नारालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी र अध्ययन अवलोकन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

    गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासनका क्षेत्रमा सुधार गर्दै समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङ निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम तथा बजेट ल्याइएको बताउनुभएको छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - १९:५७:५४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology