गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७३ करोड १५ लाख ४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८ औँ अधिवेशनबाट सार्वजनिक गरिएको उक्त बजेट गाउँपालिकाका अध्यक्ष एवं सभाध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट प्रस्तुत गरिएको हो। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।
यस अवसरमा गाउँपालिकाभित्र कार्यरत कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो। सर्वोत्कृष्ट कर्मचारी पुरस्कार सम्मान पत्र शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्तोष पौडेललाई प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारी पुरस्कार योजना शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर रविना श्रेष्ठलाई प्रदान गरिएको छ।
गाउँपालिकाले कर्मचारीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो। सम्मानित कर्मचारीहरूलाई हार्दिक बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा जनजीविकाको स्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।