धादिङमा पृथ्वी राजमार्ग आसपासका होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता र सरसफाइमा गम्भीर लापरबाही भेटिएपछि जिल्ला प्रशासन कार्यालयले पाँच व्यवसायलाई कारबाही गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा गजुरी गाउँपालिका–२ बिहानी पम्प क्षेत्रमा रहेका मन्दिरा होटल एण्ड रेष्टुरेन्ट, शुभलक्ष्मी होटल एण्ड रेष्टुरेन्ट तथा थाक्रे गाउँपालिका–७ सातकिलोस्थित दिव्यांसी होटल एण्ड लजलाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
यस्तै, सरसफाइमा कमजोरी देखिएपछि गल्छीमा सञ्चालित गल्छी खुवा पसललाई २५ हजार रुपैयाँ र धुनिबेसी नगरपालिका–७ स्थित थकाली भान्छा घरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ।
अनुगमनका क्रममा होटलका भान्सा फोहोर रहेको, खानामा किरा भेटिएको, म्याद नाघेका खाद्य सामग्री प्रयोग गरिएको, फ्रिजमा कुहिएका वस्तु राखिएको तथा मूल्य सूचीसमेत नराखिएको पाइएको अनुगमन टोलीले जनाएको छ।
टोलीले सम्बन्धित व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिँदै पुनः अनुगमनमा पनि कमजोरी दोहोरिए कानुनबमोजिम थप कडा कारबाही गरिने चेतावनी दिएको छ।
गृह मन्त्रालयको निर्देशनपछि गरिएको अनुगमनमा जिल्ला प्रशासन, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, उद्योग तथा वाणिज्य कार्यालय तथा पशुसेवा कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो। जिल्ला अनुगमन समितिले मनसुनको समयमा नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेन्टमा नियमित र आकस्मिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ।