आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा होटल अनुगमन : संघका सचिव र अध्यक्षका होटलसहित तीन होटललाई जरिवाना

धादिङमा होटल अनुगमन : संघका सचिव र अध्यक्षका होटलसहित तीन होटललाई जरिवाना

शिवराज आचार्य

२३, आषाढ २०८३
  • 2.9K
    SHARES
  • धादिङमा होटल अनुगमन : संघका सचिव र अध्यक्षका होटलसहित तीन होटललाई जरिवाना

    धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा गरिएको बजार तथा होटल अनुगमनका क्रममा होटल व्यवसायी संघका केन्द्रीय सचिव र जिल्ला अध्यक्षले सञ्चालन गरेका होटलसहित तीन होटलमा गम्भीर खाद्य सुरक्षा सम्बन्धी कैफियत भेटिएपछि जरिवाना गरिएको छ।

    images

    प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयको नेतृत्वमा जिल्ला अनुगमन समितिले पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका होटल तथा खाजा पसलहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा फ्रिजमा राखिएका खानेकुरामा किरा परेको, बासी तथा अस्वस्थकर खाद्य सामग्री बिक्री भइरहेको र सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको पाइएको प्रशासनले जनाएको छ।

    अनुगमनका क्रममा जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण सिलवाल सञ्चालक रहेको बेनिघाट रोराङ–३, सितलबजारस्थित होटल तीनभाइलाई १० हजार रुपैयाँ जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले जानकारी दिनुभयो।

    यस्तै, होटल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापाले सञ्चालन गरेको बेनिघाट रोराङ–३, सलाङघाटस्थित सफल होटललाई फ्रिजभित्र राखिएको खानेकुरामा किरा भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। होटलमा सरसफाइको अवस्था पनि कमजोर रहेको अनुगमन टोलीले जनाएको छ।

    त्यसैगरी, बेनिघाट रोराङ–३, सितलबजारस्थित ब्लु ह्यावन होटललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त होटलमा बिक्रीका लागि राखिएका खानेकुरा तथा फ्रिजमा राखिएका सामग्रीमा किरा परेको, अत्यन्त फोहोर अवस्थामा खाद्य सामग्री बिक्री गरिएको तथा यसअघि पनि कैफियत भेटिएकाले पुनः कडा कारबाही गरिएको प्रशासनले जनाएको छ।

    अनुगमनमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्का, अनुसन्धान कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशु सेवा कार्यालय प्रमुख डा. बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणि पुरी, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई, धादिङ उद्योग वाणिज्य संघका प्रतिनिधि तथा राष्ट्रिय उपभोक्ता मञ्च धादिङका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    जिल्ला प्रशासन कार्यालयले राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्टहरूले खाद्य सुरक्षा र सरसफाइलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने भन्दै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, यस्ता अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी र नियमित बनाइने प्रशासनले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०८३ मंगलवार - ०८:४८:५२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology