धादिङ । बाल विकास कार्यक्रम नेपालको आयोजनामा धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेस्थित महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा एकदिने निःशुल्क आँखा, दन्त तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा थाक्रे गाउँपालिका–१, २ र ११ का स्थानीय बासिन्दा सहित विद्यालयका शिक्षक, विद्यार्थी लगायतले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको शिविरमा ७४ जनाले जनरल फिजिसियन सेवा, १९८ जनाले दन्त परीक्षण तथा १२७ जनाले आँखा परीक्षण गराएका थिए। यसरी कुल ४०१ जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका आयोजकले जनाएको छ।
दन्त सेवा डा. सोनी कर्ण र डा. मारिसा यादवको नेतृत्वमा नोजोमी ओरल एण्ड डेन्टल, कुपन्डोलको चिकित्सक टोलीले प्रदान गरेको थियो। त्यसैगरी माट्रिका आइ सेन्टर, बानेश्वरको प्राविधिक टोलीले आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराएको थियो।
शिविरको अवलोकन थाक्रे गाउँपालिका–२ का कार्यवाहक वडा अध्यक्ष बद्धिमान तामाङ, वडा सदस्य शुरेसा राई, बाल विकास कार्यक्रम नेपालका उपाध्यक्ष सानुकाजी आले मगर, महादेवबेसी इन्चार्ज कमल आले मगर लगायतले गरेका थिए।
आयोजकका अनुसार यस्ता निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, रोगको समयमै पहिचान गर्न तथा आवश्यक उपचारमा सहयोग पु¥याउने विश्वास लिइएको छ।