शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङकै पहिलो बालमैत्री पालिका बन्दै गल्छी, प्रदेश सरकारको सहमति

धादिङकै पहिलो बालमैत्री पालिका बन्दै गल्छी, प्रदेश सरकारको सहमति

आशिष ठकुरी

३, भाद्र २०८३
  • 3.1K
    SHARES
  • धादिङकै पहिलो बालमैत्री पालिका बन्दै गल्छी, प्रदेश सरकारको सहमति

    धादिङको गल्छी गाउँपालिका धादिङ जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने भएको छ । गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न बागमती प्रदेश सरकारले सहमति प्रदान गरेसँगै गल्छी धादिङको पहिलो बालमैत्री पालिका बन्ने बाटो खुलेको हो ।

    images
    images

    बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको शासकीय सुधार तथा समन्वय महाशाखाले गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सहमति प्रदान गरेको छ ।

    गल्छी गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक कागजातसहित प्रदेश सरकारसमक्ष अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ बमोजिम गठित प्रदेशस्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदनसमेतका आधारमा गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न सहमति प्रदान गरिएको प्रदेश सरकारको पत्रमा उल्लेख छ । प्रदेश सरकारको पत्रअनुसार २०८३ साल साउन २८ गते मुख्यमन्त्रीस्तरबाट भएको निर्णयका आधारमा गल्छी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न सहमति प्रदान गरिएको हो ।

    बालमैत्री स्थानीय शासनका आवश्यक सूचक तथा मापदण्ड पूरा गर्ने क्रममा गल्छी गाउँपालिकाले यसअघि विभिन्न वडाहरूलाई समेत बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै आएको छ । गाउँपालिकाले बालअधिकार, बाल संरक्षण, शिक्षा, स्वास्थ्य, बाल सहभागितालगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रदेश सरकारबाट सहमति प्राप्त भएसँगै अब आवश्यक प्रक्रिया पूरा गरी गल्छी गाउँपालिकालाई धादिङ जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने तयारी अघि बढ्ने भएको छ ।

    बालमैत्री स्थानीय शासन घोषणाले गाउँपालिकामा बालबालिकाको अधिकार संरक्षण, अर्थपूर्ण सहभागिता, बालमैत्री सेवा प्रवाह तथा बालबालिकामैत्री योजना निर्माण र कार्यान्वयनलाई थप संस्थागत गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - १९:२०:३१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology