धादिङ । धादिङको गजुरी गाउँपालिका–६ दरियाँल खोलामा अवैधरूपले बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर शनिबार दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गजुरी गाउँपालिका– ७ का २२ वर्षीय सुमन स्याङतान र २१ वर्षीय भीम घलान रहेका छन् ।
दरियाँल खोलामा हातैले बालुवा निकालेर मजदुरी गर्ने युवाहरू नुहाउन गएको बेलामा बालुवा निकालेको खाल्डोमा परेर वेपत्ता भएका थिए। डुबेर वेपत्ता भएका उनीहरूको शव ३ घण्टापछि स्थानीयवासीले नै खोलाबाट निकालेका थिए।
घटनापछि परिवारका सदस्य सहित स्थानियले ३ वटा स्काभेटरमा आगो लगाईदिएका छन् । अन्य २ वटा स्काभेटरमा भने प्रहरीले आगो लगाउन रोकेको थियो । आगजनीबाट तीनवटै स्काभेटर जलेर पुर्णरूपमा क्षतिग्रस्त भएको छ।
स्काभेटर लगाएर अवैध रूपमा बालुवा निकाल्दा दुई जनाको मृत्यु भएको स्थानियले बताएका छन् । बालुवा उत्खननमा सँलग्न जनप्रतिनिधी समेतलाई पटक पटक आग्रह गर्दा पनि वास्तै नगरेको स्थानियको भनाई छ । चार जना साथीहरू नुहाउन गएका बेला ४ जना नै खोलामा फसेका थिए। दुई जना भने मुस्किलले निस्किएर ज्यान बचाएका छन् ।
स्थानीय प्रशासन बालुवा तस्करहरूसँगै मिलेको र मेसिन हटाउन पटक–पटक आग्रह गर्दा पनि नटेरेकोले गाउँका दुई स्थानीय युवाहरूले ज्यान गुमाउनु परेको स्थानियले बताएका छन् । अवैध रूपमा खोलामा मेसिन लगाएपछि जोखिम भएको र स्थानीय मजदुरहरूको रोजीरोटी खोसिएको भन्दै दरियाँल खोला आसपासका स्थानीयहरूले यसअघि पटक–पटक विरोध गर्दै आएका थिए ।
२०७६ साउन २५ गते प्रकाशित