शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराएको आरोपमा पोखराका वडाध्यक्ष पक्राउ

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराएको आरोपमा पोखराका वडाध्यक्ष पक्राउ

  • 7.4K
    SHARES
  • पोखरा । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता उपलब्ध गराएको आरोपमा पोखरा महानगरपालिकाको वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पक्राउ परेका छन्। कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार थापालाई आज शुक्रबार पक्राउ गरी थुनामा राख्ने अनुमतिका लागि कास्की अदालत लगिएको छ। यसअघि यो प्रकरणमा ८ जना पक्राउ परिसकेका छन्। उनीहरुमाथि अनुसन्धान चलिरहेका बेला वडाध्यक्षसहित ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। ‘अनुसन्धानकै लागि उहाँ ९वडाध्यक्ष थापा० लाई पक्राउ गरेका हौं’, एसपी कार्कीले अन्नपूर्णसित भने। प्रहरीले वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई समेत पक्रेको छ। पोखरा १८ सराङ्कोटका लेखबहादुर थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाएको आरोप छ। उनीसहित ८ जनालाई सोही आरोपमा कास्की प्रहरीले साउन २५ गते शुक्रबार पक्रेको थियो। नागरिकताका लागि वडाले सिफारिस गरेको हुँदा वडाध्यक्ष, वडासदस्य र पञ्जिकाधिकारी पक्राउ परेका हुन्। तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीहरुलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लेखबहादुरमाथि छ। उनलाई सहयोग गरेका स्थानीय, नागरिकता लिएकाहरुसहित ८ जना २५ गते पक्राउ परेका थिए। लेखबहादुरका नातिनीहरु सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए। लेखबहादुरकै छोरीहरु हुन् भन्ने सर्जिमिन मुचुल्कामा दस्तखत गरेका स्थानीय बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर समेत समातिएका छन्। लेखबहादुरले छोरी दाबी गरेकाहरु छोरी नभएको पुष्टि भएपछि पक्राउ गरेको थियो। नागरिकता लिन पेस गरिएका सबै कागजातमा युवतीहरुका बाबुको नाममा हजुरबुवा लेखबहादुर थापाको नाम उल्लेख छ। जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासीआङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ। झुठो विवरण पेस गरी नागरिकता लिएको भन्ने उजुरीमाथि कास्की प्रशासनले छानबिन गरेको थियो। छानबिनपछि विवरण झुठो रहेको भन्ने पुष्टि भएकैले पक्राउ गरिएको जानकारी सीडीओ चक्रबहादुर बुढाले दिएका थिए। ‘हाम्रो छानबिनले नातिनीहरुलाई छोरी भनेर नागरिकता दिलाएको भन्ने पुष्टि भयो’, उनले भने, ‘लेखबहादुरकी छोरीले तिब्बती शरणार्थीसँग बिहे गरेकी रहेछिन्, नातिनीहरुलाई नेपाली वंशजको नागरिता दिलाउन झुठो विवरण पेस गरेका रहेछन्।’ उनीहरुलाई नागरिकता ऐन २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ। झुठो विवरण पेस गरी नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ। कास्की प्रशासनले उजुरी आउनासाथै ती युवतीहरुको नागरिकता जफत गरेको थियो। उनीहरुले राहदानी भने लिन भ्याएका थिएनन्। नागरिकता लिएका दिदी बहिनीको उमेरको फरक केवल ७ महिना छ। त्यही क्लुका आधारमा झुठो विवरणमाथिको छानबिन सुरु भएको थियो। यही प्रकरणमा कास्की प्रशासनले आफ्ना ४ कर्मचारीलाई पनि विभागीय कारबाही सिफारिस गरेको छ। साभार : अन्नपुर्ण पोष्ट

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - ०१:३०:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology