काठमाडौं । इन्द्रावती गाउँपालिकाको तिर्खुमोडमा हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा हालसम्म १२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा १ र धुलिखेल अस्पतालमा ६ जनाको मृत्यु भएको हो । अन्य केही यात्रुको अवस्था पनि गम्भिर रहेकोले मृतकको संख्या बढ्न सक्ने जानकारी प्रहरीले दिएको छ ।
बस भित्र र छतमा पनि यात्रुहरु खचाखच रहेको प्रहरीको भनाई छ । दुर्घटनामा सख्त घाइते ७० जनाभन्दा बढीको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले उद्धार गरी विभिन्न अस्पताल पठाएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० जना घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ। थप उपचारका लागि काठमाडौं ल्याइएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको सेनाले जनाएको छ।
धुलिखेल अस्पतालमा ६७ जना घाइतेको उपचार भइरहेको छ। यस्तै बनेपास्थित शिरमेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ। मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती-९ की संगिता श्रेष्ठ, हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती-१० का रितेश आचार्य छन्।त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुतीको मृत्यु भएको छ। अन्यको सनाखत हुन बाँकी रहेको छ । बस बिहान ब्रेक फेल भएर सडक तल खसेको अनुमान प्रहरीले गरेको छ ।
२०७६ असोज २४ गते प्रकाशित