काठमाडौँ । नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको हो । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको बताएका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको उनको भनाई छ ।
विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने छ । आगामी महिना बोलपत्र आह्वान गर्ने तयारी भइरहेको भन्दै थापाले आवश्यक पूर्व तयारी पूरा गरेर मात्र निर्माण सम्झौता र ऋण सम्झौता एकैसाथ गरिने मौखिक समझदारी विश्व बैङ्कसँग भएको बताए ।
करिब १६ अर्ब रुपैँयाको लागतमा यो सडकखण्ड विस्तार हुन लागेको हो । यस सडकखण्डको विस्तार अवधि तीन वर्षको हुने सडक विभागले जनाएको छ । यस्तै नागढुङ्गादेखि मुग्लिनसम्म करिब ९६ किलोमिटर दूरी रहेको यो सडकखण्डको चौडाइ दुईदेखि छ लेनसम्म हुनेछ । भीरपहरा भएको ठाउँमा दुई लेनको, समतल र बस्ती तथा बजार क्षेत्रमा छ लेनको बनाइने छ ।
यस सडकखण्डमा चार लेनका २२ वटा नयाँ पुल निर्माण गरिने छ भने दसवटा आकाशे पुल निर्माण गरिनेछ ।
यस्तै नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गदेखि धादिङको धार्केसम्म करिब ११ किलोमिटरको सहायक मार्ग निर्माण गरिने जानकारी उहाँले दिनुभयो । त्यसका लागि करिब तीन अर्ब रुपियाँ अतिरिक्त लागत लाग्ने सडक विभागको भनाई छ ।
नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापनका लागि त्रिशूली नदीको पारिपट्टि पनि सडक निर्माण सुरु भएको सडक विभागले जनाएको छ । फिस्लिङदेखि विशालटारम्म त्रिशूलीपारि दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।
२०७६ कार्तिक ०४ गते प्रकाशित