काठमाडौं । विप्लव नेकपाको सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीको भिडन्तमा नभई प्रहरीले बल प्रयोग गरेर मारेको खुलासा भएको छ । ५ असारमा राज्यद्वारा प्रतिबन्धित पार्टी विप्लव नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको प्रहरीबाट हत्या भएको थियो ।
दोस्रो दिन राष्ट्रिय मानवअधिकार आयोगले सो हत्याको विषयलाई लिएर छानविन टोली गठन गरेको विज्ञप्ति मार्फत जनाएको थियो । एक महिनापछि आयोगले प्रहरी र स्थानीयसँग छानविनका लागि अनुसन्धान थालेको थियो । सोमबार मानवअधिकार आयोगले निर्णय गर्दै घटनाको लामो अनुसन्धानपछि पछि पौडेलको हत्यालाई गैर न्यायिक भनेको छ ।
सर्लाही घटनाको अनुसन्धानमा खटिएका आयोगका सदस्य गोविन्द पौड्यालले सो घटनामा पौडेललाई नियन्त्रणमा लिएर मारेको देखिएको बताए । गिरफप्तार गरी हत्या गर्ने तीन जना प्रहरीलाई आयोगले फौजदारी कसुरअन्तर्गत मुद्दा चलाउन सरकारलाई निर्देशन समेत दिएको उनले जानकारी दिए ।
२०७६ कार्तिक ०४ गते प्रकाशित