काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएपछि उनको तिहार पनि हिरासतमै बित्ने भएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न कोशिस गरेको र नमान्दा कुटपिट गरेको आरोप लागेका महराको दसैं हिरासतमै बितेको थियो। रोशनी शाहीले उजुरी दिएपछि उनलाई महाष्टमीको दिन प्रहरीले पक्राउ गरेको थियो।
अब उनीमाथिको अनुसन्धान कात्तिक १४ गतेसम्म सकिसक्नुपर्छ। शुक्रबार नै उनको अनुसन्धान गरेर सरकारी वकिलमा नबुझाए उनी तिहारसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ। सरकारी वकिललाई प्रतिवेदन बुझाए पनि उसले मुद्दा चलाउने नचलाउने निर्णय गर्छ।
मुद्दा नचलाए उनी त्यही दिन छुट्छन्। मुद्दा चलाए अदालतले थुनछेक बयान लिन्छ अनि थुनछेक बहस हुन्छ। त्यसपछि अदालतबाट उनलाई थुनामा राख्ने कि छोड्ने निर्णय हुन्छ।
यो सबै एकैदिन हुनसक्ने संभावना कम भएको सरकारी वकिल कार्यालय स्रोतले बताएको छ।
२०७६ कार्तिक ०७ गते प्रकाशित