अर्घाखाँची । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परी १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालमा सडक दुर्घटनापछि कमै मात्र छानविन समिति बन्ने र समिति बने पनि त्यसले समयमै प्रतिवेदन बुझाउने गरेका थिएनन्।

२० दिन अघि मंसिर ११ गते अर्घाखाँचीमा भएको बस दुर्घटनाको प्रमुख कारण नै तीव्र गति भएको छानविन समितिले निस्कर्ष निकालेको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु २ ख २१४८ नम्वरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका ६ नरपानी नजिकै सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो। दुर्घटनालगत्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानविन टोली निर्माण भएको थियो।
छानविन समितिलाई १५ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरी दिएको कार्यादेशअनुसार प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई प्रतिवेदन बुझाइएको हो।
२०७६ पौष १ गते प्रकाशित