रसिला तामाङ
म रसिला तामाङ, मेरो घर धादिङको धुनिबेशी हो । अहिले म २० वर्षको भएँ । भर्खरै चीनमा सम्पन्न ट्रेल रेसमा ३ सय ५० भन्दा बढी धावकहरुलाई पछि पार्दै मैले स्वर्ण पदक जितेँ । माईनस तापक्रममा दुर्ई हजार मिटरबाट शुरु भएको रेस ४ हजार २ सय मिटरमा पुगेपछि फेरि फर्केर उत्तिकै दुरी तय गर्दै ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा रेस पुरा गरी मैले स्वर्ण जित्न सफल हुँदा निकै खुसी भएको छु ।
यस अघि मैले एभरेस्ट म्याराथन जितिसकेको थिएँ । चीनमा म सँगै गणेशबहादुर ठकुरी, सन्तोषविक्रम विष्ट, दुर्गराज बुढा, दामोदर बुढा, इन्द्रकला नेम्बाङ पनि सहभागी हुनुहुन्थ्यो । पुरुषतर्फ दुर्गराज बुढा दोस्रो हुनुभयो भने दामोदर बुढा तेस्रो हुनुभयो ।
मेरो बाल्यकालको बारेमा कुरा गर्नुपर्दा म जन्मेको वर्ष दिन नपुग्दै मेरो बुबाको मृत्यु भयो । आमा दमको रोगी हुनुहुन्थ्यो । परिवारमा आर्थिक सँकट थियो । ६ वर्षकै उमेरमा काम खोज्न हिँडेको मैले ’बच्चा हेर्ने’ काम पाएँ । एक दिन बच्चालाई स्कुल लिन जाँदा आफैँ हराएछु। रुँदैरुँदै हिँड्दा एकजना दाइले पुलिस चौकीमा पुर्याइदिनु भयो । सोधिखोजी गरेर मलाई उनिहरुले आफ्नो घर पुर्याए। त्यसपछि बच्चा हेर्न सक्दिन भनेर घरमै बस्न थालेँ ।
मामा पर्ने आफन्तकहाँ बसेर काम गर्दै पढ्दै गर्दा मैले कक्षा ८ मा पढ्दापढ्दै पढाइ छोडेँ । अरुको घरमा काम गर्नुपर्ने बाध्यताका कारण न काममा केन्द्रित भईयो न पढाईमा । अनेक निरासाबिच मैले आत्महत्यको प्रयास गरेँ । तर मेरो फुपुले अस्पताल लगेर ज्यान जोगाइदिनुभयो । पढाई छोडेपछि गाउँबाट तरकारी काठमाडौं पठाउन थालेँ । त्यतिबेला १५ वर्षकी थिएँ । गाउँबाट ५ किलोमिटर उकालो सम्म भारी बोकेर सडकमा पुराएर काठमाण्डौँ तरकारी पठाउनु दैनिकी जस्तै थियो ।
अर्को कुरा सन् २०१५ को अन्तर्रा्ष्ट्रिय महिला दिवसका दिन म जावलाखेल पुगेकी थिएँ । त्यहाँ दौड हुँदै थियो । म त्यहाँ बिना कुनै पूर्व तयारी दौडिएँ । खासमा त्यहाँ म्याराथन भइरहेको छ भन्नेसमेत मलाई थाहा थिएन ।
महिलाहरुको दौड थियो, विदेशी नेपाली गरेर ४ सय जना दौडेका थिए। के हो भन्ने मलाई थाहा थिएन, टिचरको जुत्ता लगाएर दौडिएँ । दौड सकियो । चर्चित अल्ट्रारेस धाविका मीरा राई पहिलो हुनुभयो ।
इङ्लिसमा एङ्करिङ भएकोले बुझ्न सकेको थिइन मैले, पछि मेरो नाम लिँदा छक्क परेँ। म त दोस्रो भएकी रहेछु, । हो यहिँबाट मेरो जीवनले नयाँ मोड लियो । त्यसपछि मेरो सम्पर्क मीरा राई, रिचर्ड बाल, आशिष मिश्र जि हरु सँग हुन थाल्यो । र मेरो नयाँ यात्रा पनि सुरु भयो ।
दुई वर्षको ग्याप पछि धादिङमै फेरी पढाइ थालेँ । एसएलसी सकियो । त्यसलगत्तै हिमालयन आउटडोर फेस्टिबलमा भाग लिएँ । त्यहाँ म १२ किलोमिटरको दौडमा प्रथम भएँ । एसएलसी सकिएपछि प्लस टु का लागि कलंकी स्थित गणेशमान सिंह बहुमुखी क्याम्पसमा भर्ना भँए । घर धादिङ थियो । कलेज भने २१ किलोमिटरको दुरीमा रहेको थियो । म धाङिङबाट बिहानै दौडिएरै प्लस टू पढ्न कलंकी पुग्थेँ । बेलुकी भने गाडीमा फकिन्थेँ । यसो गर्दा समाजले कुरा पनि काट्न थाल्यो तर म यसलाई वास्तै गरिँन । मलाई परिवारको साथ थियो । म नदौडिएको भए म गाउँमै मेलापात गरिरहेको हुन्थेँ। अहिले देश विदेश घुमेकी छु। देशको नाम पनि राख्न पाएको छु । म अहिले काठमाडौ नै बसेर बिएसडब्लु दोस्रो वर्षमा अध्ययनरत छु ।
सन् २०१७ मा चीनमा पहिलो पटक विदेशमा गएर अन्तर्रा्ष्ट्रिय दौडमा सहभागिता जनाएँ । १५ औं स्थानमा चित्त बुझाएँ ।
त्यसपछि सन् २०१८ मा ग्रुप इभेन्टमा दौडिनका लागि हङकङ पुगेँ । १०० किलोमिटर अल्ट्रा रेसमा मेरो समूह दोस्रो भयो।
सन् २०१९ मै मुस्ताङ ट्रेल रेसमा १ सय ७० किलोमिटर दुरीमा पहिलो भएँ । मैले ट्रेल रेसमा एउटा उचाइ लिइसकेकी थिएँ ।
केहि समय अघि मात्र मैले एभरेस्ट म्याराथन जितेको थिएँ ।भर्खरै मात्र चीनको कुनिङमा भएको ५० किमी इन्डिभिजुअलमा ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेँ । पहिला धेरै दुख गरेको हेर्दा अहिले धरै खुशी छु । अबको मेरो लक्ष्य भनेको राम्रो प्रशिक्षण गरेर वर्ल्ड च्याम्पियनसीपमा सहभागी हुने र जित्ने पनि हो ।
(रसिला तामाङसँग नागरिकपाटी डटकमले गरेको कुराकानीमा आधारीत)
प्रकाशित मिति :पौष १५, २०७६ मंगलवार -
०१:२५:१४ बजे