१५, फाल्गुण २०७६
गगन थापा
सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्र बीचको घुस लेनदेनको वार्तालापको अडियो हामीले फागुन ९ गते बिहान सुन्यौं । यो वार्तालाप सम्माननीय प्रधानमन्त्रीज्यूले केही महिनाअघि सुन्नुभएको थियो भन्ने अनुमानहरु होइन, दावीहरु सञ्चारमाध्यममा छापिएका छन् । बजिरहेका छन् । यसको बारेमा संसदमा आएर उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन रु प्रधानमन्त्रीज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन । तर, संसदसँग यो हिम्मत हुनै पर्छ । ध्यानाकर्षण मात्र होइन, संसदले यो सामर्थ्य राख्नैपर्छ । सम्माननीय प्रधानमन्त्री ज्यू डाँडाकाँडा डुलेर बस्ने होइन, तालतलैजा हेरेर बस्ने होइन । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ । हाम्रो प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन, सही प्रश्नहरु सोध्नेछौं ।
म सम्माननीय सभामुख महोदयलाई प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्नका लागि आग्रह गर्न चाहन्छु । प्रधानमन्त्रीजीले के भन्नुहुन्छ मलाई थाहा छैन । तर उहाँका आसेपासेहरुले केही दिनदेखि एउटै कुरा भनिरहनु भएको छ, प्रधानमन्त्रीलाई थाहा थिए ।
प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीको भनाईका आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने रु हामीले पत्याउने नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ( यो सबैकुरा तपाईंलाई थाहा छैन भने प्रधानमन्त्री जी तपाईंलाई के थाहा छ रु
प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ रु नागरिकहरु के भन्दैछन्, यो सेक्युरिटी प्रेसको ठेक्का मात्र होइन, स्योटेलाइटको ठेक्का, फोरजी बिस्तारको ठेक्का, अप्टिकल फाइभर विस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था वडा इकाई विद्यालय सबै ठाउँमा फ्रि इन्टरनेट सेवा पुर्याउने यी सबै ठेक्काका बारेमा सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुरा थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गइसकेपछि अहिले गोकुल बास्कोटालाई बलिको बोका बनाइएको छ भन्ने नागरिकको भनाई छ । तपाईंलाई थाहा छ रु
प्रधानमन्त्रीजी भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटकपटक दोहोर्याउनु भएको छ । तर नागरिकहरु तपाईंलाई प्रश्न गर्दैछन्( बालुवाटारमा ऐना छ कि छैन रु भनेर जनता सोधिरहेका छन् । प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ रु
प्रधानमन्त्रीजी, तपाईंकै पार्टीका कार्यकर्ताहरु ठूलो स्वरले बोल्न सक्दैनन् । तर यहीँ संसदको लबिमा भेट्दैगर्दा कहिलेकाँही झिनो स्वरमा हामीलाई कानेखुसी गरेर हामीलाई भन्छन्, हाम्रो प्रधानमन्त्री पहिला पहिला मार्क्सवादी जस्ता देखिनुहुन्थ्यो, बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो । आजभोलि यताबाट हेरेपनि उताबाट हेरेपनि यतिवादी मात्र देखिनुहुन्छ भनेर भन्छन् । प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ रु
प्रधानमन्त्रीजी, तपाईंलाई थाहा छ रु एमसीसीको प्रकरणका सन्दर्भमा तपाईंका पार्टीभित्रका खाँटी राष्ट्रवादीहरुले तपाईंलाई जसरी तह लगाइदिएका छन्, अनि दुईदिन अगाडि मात्रै अहिले जसरी जालझेल गरेर होइन, होइन भने पनि तपाईंको पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि तपाईंलाई बाहिर के भन्दैछन् थाहा छ रु देखिँदादेखि सुरो, यथार्थमा विचरो भनेर भन्दैछन् । प्रधानमन्त्री जी तपाईंलाई थाहा छ रु
सम्माननीय प्रधानमन्त्रीजी, तपाईंको जन्मदिनको बारेमा म चर्चा गर्न चाहन्नँ । यो तपाईंको नितान्त वैयक्तिक कुरा हो । मेरो तपाईंलाई पनि शुभकामना छ । तर, नागरिक के भन्दैछन् थाहा छ रु सम्माननीय प्रधानमन्त्रीजीको राजषि ठाँटका साथ मनाइएको जन्मोत्सवले हामीलाई ०६०र०६१ सालको पूर्वराजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भनेर भन्दैछन् । पूर्वराजा यसैगरी हिंडिबक्सिन्थ्यो । आफैं अभिनन्दन गर्न लगाइबक्सिन्थ्यो । विद्यार्थीहरुलाई बोलाइबक्सन्थ्यो । सबैले जयजयकार गर्थे । अनि आफ्नो छेउको भारदारलाई सोधिबक्सन्थ्यो । एक दुईजना मानिस यताउता विरोध गरिरहेका छन् नि रु अनि भारदारले भन्थ्यो( महाराज सब ठिक छ । यी एक दुई जना केही मानिसहरु मात्र महाराजको विरोध गरिरहेका छन् । प्रधानमन्त्रीजी मात्र होइन, त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीजीको वरिपरि जेजस्तो भिडभाड देखियो, तँछाडमछाड देखियो, यो देख्दै गर्दा प्रधानमन्त्रीको वरिपरि रहनेहरुले पूर्वराजा ज्ञानेन्द्रको भारदारको न्यास्रो पनि हामीलाई मेटाइदिएका छन् ।
प्रधानमन्त्रीजी तपाईंलाई के थाहा छ के थाहा छैन मलाई थाहा छैन । मलाई थाहा पाउनु पनि छैन । तर यति मात्रै कुरा थाहा छ( तपाईंले यी सबै कुराहरु थाहा पाउनु भएको छ र थाहा नपाएको जस्तो गर्दै गर्नु भएको छ भने त्यो पाप हो । तपाईंले केही पनि कुरा थाहा पाउनु भएको छैन भने त्यो असक्षमता हो ।
संख्या तपाईंसँग होला प्रधानमन्त्रीजी । तर, यी दुवै अवस्थामा शासन गर्ने वैधानिक योग्यता, क्षमता तपाईंले गुमाउनु भएको छ । त्यसैले सम्माननीय प्रधानमन्त्रीजी, नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।
(मंगलबार बसेको संसद बैठकको विशेष समयमा सांसद गगन थापाले व्यक्त गरेको विचार)
प्रकाशित मिति :फाल्गुण १५, २०७६ बिहिवार -
१८:५४:१७ बजे