काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किएका छन् । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी आज शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् ।
घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए । प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।