२८, बैशाख २०७७
काठमाण्डौ । आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा टाइम कार्ड लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी महाशाखा, उद्योग वाणिज्य विभागका पदाधिकारीहरूको हिजोको संयुक्त छलफलले आजदेखि सवारी साधन सञ्चालनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
एक तिहाइ कर्मचारीको मात्रै उपस्थिति हुने गरी सञ्चालन गर्न भनेका कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेभित्रमा कार्यालयमा पुगिसक्नुपर्ने छ । यस्तै, बैंक, वित्तीय संस्थाका कर्मचारीहरू फर्किँदा दिउँसो साढे ३ देखि साढे ५ बजे सम्म फर्किसक्नुपर्ने र सरकारी कार्यालयको हकमा भने बेलुका ५ देखि ६ बजेको समय निर्धारण गरिएको छ। अन्य समयमा सञ्चालनमा रोक लगाउने निर्णय भएको छ।
यसैगरी तरकारी, फलफूल, खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सवारीसाधन बिहान १० बजेसम्ममात्रै सञ्चालन हुन पाउने छन्। महाशाखाका अनुसार निर्माण सामाग्री बोकेका ठूला सवारीसाधन उपत्यका भित्र राति ८ बजेदेखि ६ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ ।
प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार -
१६:१७:०८ बजे