१५, जेठ २०७७
धादिङ । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार नै बहुमतले पारित भएको छ। कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेशभित्र निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधिको उपलब्धता सुनिश्चित गर्ने, क्यान्सर रोग लागेका विपन्न नागरिकहरुलाई केन्द्र सरकारले दिँदै आएको सहुलियतमा थप सहुलियत दिने नीति पनि प्रदेश सरकारले लिएको छ।
सरकारले कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको आधुनिकिकरण र औद्योगीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिने नीति लिएको छ। प्रदेश सरकारले शहीद, वेपत्ता, घाइते र अपाङ्गता भएका परिवारलाई ’द्वन्द पीडितका साथ प्रदेश सरकार’ कार्यक्रम अन्तर्गत सीप अभिवृद्धि र रोजगारीका अवशर उपलब्ध गराउने नीति पनि लिएको छ।
यसैबिच बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको विषम परिस्थितिलाई सम्बोधन गर्न नसक्ने सांसदहरुले बताएका छन् । लामो समयदेखि लकडाउन जारी रहँदा जनताहरु भाकभोकै बस्नुपरेको उनीहरुको भनाइ छ । बुधबार नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राख्दै सांसदहरु नरोत्तम वैद्य, रिना गुरुङ, रामलाल महतो, हिरानाथ खतिवडा, विराजभक्त श्रेष्ठ र सीता लामाले कोरोनाबाट प्रभावित जनताहरुका लागि विशेष प्याकेज ल्याउनुपर्ने भन्दै नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका हुन् ।
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार -
१४:१०:५६ बजे