काठमाडौं । नेपालमा आइतवार एकै दिन १०२ कोभिड–१९ का संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् ।
कोभिड–१९ का संक्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेको संख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । हिजो शनिवार ३२ जना कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रवार एकै दिन ४३ जनाले संक्रमण जितेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमध्ये दुई महिला र १०० पुरुष रहेका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । तीमध्ये पुरुष ३९९ र महिला ६८ जना रहेका छन् । उनीहरुमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना छन् । ती सबै झापाका हुन् । त्यस्तै बाराका ३४ र महोत्तरीका एकजना छन् ।
बुटवल कोरोना अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु रुपन्देही र कपिलवस्तुका हुन् । कोरोना विशेष अस्पताल दाङबाट बाँके बर्दिया र कपिलवस्तु र दाङका १० जना डिस्चार्ज भएका छन् । रौतहट गौरबाट सबै रौतहटका १८ जनाले कोभिड जितेर घर फर्किएका छन् । रासस