धादिङ । धादिङको ज्वालामुखि गाउँपालिकामा शुक्रबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट फर्किएका ६८ जनाको पीसीआर टेष्टको लागि पठाईएकोमा २७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जनाईएको छ । संक्रमित मध्ये दुई महिला र २५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित धादिङमा ५८ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै धादिङका २ नगरपालिका सहित ७ गाउँपालिकामा कोरोना भाईरसका संक्रमित भेटिएका छन्, भने गंगाजमुना गाउँपालिका, रुबीभ्याली गाउँपालिका, खनिवास गाउँपालिका र बेनीघाट गाउँपालिकामा संक्रमितहरु भेटिएका छैनन् ।
हालसम्म देशका ७२ जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।
हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । हालसम्म यसबाट संक्रमित भएर १५ जनाको मृत्यु भएको छ।