काठमाडौं । लकडाउनका कारण स्थगित हुन पुगेका विभिन्न तहका परीक्षा संचालन गर्ने तयारी त्रिभुवन विश्वविद्यालयले गरेको छ। सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत् नै परीक्षा लिने भन्नेमा छलफल भइरहेको त्रिविले जनाएको छ। परीक्षाको उपयुक्त माध्यम र त्यसको कार्यविधिसमेत सिफारिस गर्न विश्वविद्यालयले समिति नै गठन गरी अध्ययन थालेको छ।
प्रा.डा सुर्वण शाक्यको नेतृत्वमा बनेको ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ले सामाजिक दूरी कायम गरी परीक्षा लिने वा अनलाइनमार्फत लिने भन्नेमा केन्द्रित रहेर छलफल थालिसकेको समेत जानकारी दिएको छ। कमिटी अफ अल्टरनेटिभ एक्जाम मोडका सदस्य एवं परीक्षा नियन्त्रण कार्यलय बल्खुका उपनियन्त्रक विष्णु वाग्लेका अनुसार ३ ४ दिनमा नै कुन तरिकाबाट परीक्षा लिने भन्ने टुंगो लाग्ने बताएका छन।
राजधानीका अधिकांश विद्यार्थी बाहिर भएको र क्याम्पसको सम्पर्कमा नरहेका कारण सामाजिक दूरी कायम गरेर परीक्षा लिन असम्भव देखिएको त्रिविले जनाएको छ।