काठमाडौँबाट नजिक छ रुबी भ्याली । प्राकृतिक, धार्मिक तथा साँस्कृतिक रुपले धनी रहेको धादिङको उत्तरी क्षेत्र रुबी भ्यालीको पर्यटन प्रर्वद्धनका लागि विभिन्न प्रयासहरु पनि भैरहेको छ । पछिल्लो समय गणेश हिमाल पर्यटन विकास समितिको संयोजनमा भएको फार्म ट्रिपमा विभिन्न सञ्चार माध्यममा कार्यरत १६ जना सञ्चारकर्मी सहित ३२ जनाको सहभागिता रह्यो । फार्म ट्रिप सफल गराउन नेपाल टुरिजम बोर्ड, भिटोफ नेपाल, टान लगायतको सहकार्य थियो ।

धादिङको १३ स्थानिय तह मध्ये रुबी भ्याली पनि एक गाउँपालिका हो । बहुमूल्य रुवि ढुङ्गा पाइने स्थान भएकाले नै रुबी भ्याली नाम दिइएको यहाँ काठमाडौंबाट छोटो समय र थोरै खर्चमा घुम्न सकिने ट्रेकिङ रुटको रुपमा पनि चिनिन्छ ।
धादिङको गल्छि हुँदै नुवाकोट, रसुवा भएर सवारी साधनमा नै रुबी भ्याली पुग्न सकिन्छ । रसुवा र धादिङको सिमाना क्षेत्र सोमदाङमा केहि होटलहरु छन् । यहाँ खान र बस्नको सुबिधा पनि छ । समुद्री सतहदेखि ३२०० मिटरको उचाईमा रहेको सोमदाङ गाउँ आसपासमा स्थानियहरुले चौँरी पालन पनि गरेका छन् ।
सोमदाङबाट तिप्लिङ सम्म २७ किलोमिटरको सडक छ । कच्ची र मौसम अनुसार हिलो हुने, हिँउ जम्ने कारणले सँधै यो सडक पुर्ण रुपमा सञ्चालन भने हुँदैनन । सोमदाङबाट केहि किलोमिटरको उकालो बाटो प्रयोग गर्दै जिपमा ‘पाङसाङ पास’ पुग्न सकिन्छ ।

यो रुबीभ्यालीको आकर्षणको रूपमा रहेको छ । ३ हजार ८ सय ५० मिटर उचाइमा रहेको पाङसाङ पासबाट हिमशृङ्खला सहित सुन्दर हरियाली पहाडको अवलोकन गर्न सकिन्छ । पाङसाङ पास भन्दा केहि माथी ४२०० मिटर उचाईमा पुगेर पनि गणेश, लाङटाङ लिरुङ अन्नपूर्ण, मनास्लु लगायत हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

पाङसाङ पासबाट गाडि र सडककै सहजता भए तिप्लिङ सम्म सजिलै पुग्न सकिन्छ । नभए जँगलको बाटो हुँदै पैदलै तिप्लिङ पुग्न सकिन्छ । तिप्लिङ बाट सेर्तुङको चालिस गाउँ, बोराङ, हुँदै झार्लाङ र दार्खाको डुन्डुरे हुँदै धादिङबेशी हुँदै काठमाण्डौँ फर्कन सकिन्छ ।

तिप्लिङको लुब्दुङ देखी बोराङ सम्म सडकको सुविधा छैन । यो स्थानमा पैदलै हिँड्न सकिन्छ भने बोराङ देखी डुन्डुरे सम्म ग्रामिण सडकमा चल्ने आईचर लगायतका गाडिमा यात्रा गर्न सकिन्छ । डुण्डुरे देखी धादिङबेशी सम्म भने नियमित रुपमा जिप र यहाँबाट काठमाण्डौँ सम्म बस पनि सञ्चालन भएको छ ।

रुबी भ्यालीमा गुरुङ, तामाङ जातिका सांस्कृतिक नृत्य र अर्गानिक खानाको स्वाद लिन सकिन्छ । रुबी भ्यालीमा घले दरबार लगायतका ऐतिहासिक स्थानहरू छन् भने सेतो दहलगायतका धार्मिक स्थलहरू पनि छन् ।

यहाँको तिप्लिङ, सेर्तुङ, बोराङ, लापा जस्ता तामाङ बस्तीहरु तामाङ संस्कृतिका खानी नै हुन् भने चालिस गाउँमा गुरुङ संस्कृतिको अवलोकन गर्न पाइन्छ ।


