थाक्रे । सिड्स नेपाल धादिङले होटल तालिम प्रदान गरेपछि एक युवाले आफ्नै होटल व्यवसाय सुरु गरेका छन् । थाक्रे ६ महादेवबेशीका युगेन तामाङले तालिमको प्रमाणपत्र लिएको २०७७ पौष ४ गतेको भोलिपल्टै देखि महादेववेशीमा रोयल सिटि फास्ट फुड क्याफे नामको होटल सञ्चालन गरेका हुन् । होटलमा मम, चाउमिन, रोटी, तरकारी, ससेज, चिकेन चिल्ली, पकौडा, स्याभाले, लाफिङ लगायतका खाजाका परिकार पाईने सञ्चालक तामाङको भनाई छ । यस अघि उनि सहितका युवाहरु २३ सेप्टेम्बर २०२० देखि ६ नोभेम्बर २०२० सम्म आधारभुत होटल तालिममा सहभागि भएका थिए ।
सिड्स नेपाल धादिङ र युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित जोखिममा रहेका बालबालिकाको सुरक्षा परियोजना अन्र्तगत थाक्रे गाउँपालिकाको परियोजना कार्यन्वयन भएको वडाहरु बाट विद्यालय उमेरमा विभिन्न कारणले विद्यालय जान नपाएका विचमा कक्षा छोडेकाहरु लाई विभिन्न सीपहरु सिकाई आफ्नो जीवनलाई ब्यवसायको माध्यम बाट सहजहोस् भन्ने उद्धेश्यले थाक्रे गाउँपालिका वडा नं. २ सिम्लेको द क्लिफ साईड रिसोर्टमा होटल तालिम प्रदान गरिएको थियो ।
‘युगेन तामाङ काम प्रति लगाव र सिकाईमा ज्यादै नै अभिरुची राख्ने गर्दथे, परियोजना संयोजक दिलवहादुर रम्तेलले भन्नुभयो, ‘होटल तालिम सिक्न आउँदा तालिम पछि के गर्नुहुन्छ ? भन्ने प्रश्नमा होटल सञ्चालन गर्छु भन्नुहुन्थ्यो तालिम पछि त्यो युगेनले पुरा गर्नुभयो ।’ तालिम पश्चात् आफ्नो सीप भएकाले नै होटल सञ्चालन गरेको भन्दै होटल तालिम सिकाई ब्यवसायिक बन्न सक्ने बनाउनु भएकोमा युएमएन र सिड्स नेपाल धादिङ प्रति होटल सञ्चालक तामाङले आभार प्रकट गर्नुभएको छ ।
२०६२ सालदेखि धादिङ जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा युनाईटेड मिसन टु नेपाल धादिङको साझेदारीमा सामाजिक विकासका गतिविधीहरु कार्यान्वयन गरिरहेको सिड्स नेपालले जोखिममा रहेका बालबालिकाको सुरक्षा परियोजना कार्यन्वयनमा स्थानीय गाउँपालिका, वडा र सम्वन्धित विद्यालयको समेत सहभागितामा अभिभावक र बालक्लबको क्षमता विकास गरी सरोकारवाला र स्थानीय सरकार संग समन्यव गरी वाल जोखिम कम गर्न विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।