रातमाटे (धुनिबेशी) । धादिङको धुनिबेशी नगरपालिकाले आज (विहिबार) आठौँ नगरसभा गरेको छ । नगरपालिकाको वडा नम्बर २ स्थित रातमाटेमा निर्माणाधिन वृद्धवृद्धा विश्रामस्थलमा नगरसभा गरिएको हो । कार्यक्रममा विभिन्न योजना तथा कार्यक्रम परिवर्तन तथा सँसोधनको प्रस्ताव गरि पारित गरिएको छ ।

विभिन्न ९ वटा साविकका योजनाहरुलाई सँसोधन गरि १६ योजना बनाएर कार्यान्वयनको चरणमा लान नगरसभामा प्रस्तुत गरिएको थियो । प्रस्तुत योजनाहरु सहभागीबाट पारित भएको नगरपालिकाले जनाएको छ ।

यस्तै नगरसभा मार्फत जलस्रोत ऐन-२०७७ पनि पारित भएको छ । सभामा नगरपालिका भित्रको भु-सतह, भुमिगत वा अन्य कुनै अवस्थामा रहेको जलस्रोतको समुचित उपयोग, सँरक्षण, व्यवस्थापन र विकास गर्न एवं जलस्रोतको लाभदायक उपयोगहरुको निर्धारणका साथै जलस्रोतलाई प्रदुषण मुक्त राख्ने सम्बन्धमा जलस्रोत ऐन-२०७७ पारितका लागि सिफारिस गरिएको थियो । सिफारिस गरिएको ऐनलाई सहभागीले पारित गरेका हुन् ।

सभामा नगरपालिकाको उपप्रमुख निरु खरेलले पेश गर्नुभएको वक्तव्य, विभिन्न प्रस्तावहरु र जलस्रोत ऐन-२०७७ माथी उठेका प्रश्नहरुको जवाफ नगरप्रमुख बालकृष्ण आचार्यले दिनुभएको छ ।

कार्यक्रममा नगरप्रमुख, उपप्रमुखका साथै प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, सम्पुर्ण वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
