(केवलपुर) थादिङ । सहयोगी हातहरुको समूह (सहास) नेपालको आयोजनामा संयुक्त फिल्ड अनुगमन सँगै अन्तरक्रिया कार्यक्रम भएको छ । धादिङको थाक्रेमा सँचालित स्थानिय प्रयासमा जिबिकोपार्जन सुधार परियोजना अन्तर्गत थाक्रे ९ का विभिन्न समुहमा संयुक्त फिल्ड अनुगमन र स्थानिय कृषकहरु बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।
उक्त वडाको सरस्वती कृषक समुह र हिलेखर्क कृषक समुहमा परियोजना अन्तर्गत भईरहेको कामहरु र कामले पारेको प्रभाव सँगै अबको आवश्यकता लगायतको विषयमा अन्तरक्रिया कार्यक्रम भएको परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सहास नेपालले थोरै बजेटमा गरेको कामहरु प्रभावकारी देखिएको भन्दै साझेदार सँस्थालाई धन्यवाद दिनुभएको छ । उहाँले अब घर बगैँचा कार्यक्रमलाई विशेष ख्याल गर्न स्थानियलाई आग्रह गर्नुभएको छ । यो कार्यक्रम मार्फत उत्पादन नहुन सक्ने तर सरसफाई हुने र घरको सौन्दर्यता बढ्ने बताउनुभयो ।

दुवै स्थानमा भएका कार्यक्रममा समुहको तर्फबाट प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । उहाँहरुले समुह व्यवस्थापनको कुरा सँगै निरन्तर रुपमा सहास नेपालबाट प्राविधिक सहयोग पाएको बताउनुभएको छ ।
कार्यक्रममा सरस्वती कृषक समुहका सदस्यहरुलाई प्लाष्टिक घर र थोपा सिंचाई सेट हस्तान्तरण गरिएको छ भने हिलेखर्क कृषक समुहका सदस्यहरुलाई स्वच्छता गाउँ प्रर्वद्धन कार्यक्रम अन्तर्गत किशोरकिशोरी सम्बाद समूहलाई डस्टबिन हस्तान्तरण गरिएको छ ।

हिलेखर्कलाई जलवायु उत्थानशिल गाउँ बनाउने गरी जलवायु अनुकुलन मैत्री प्रविधीहरु सहयोग गरिएको परियोजना अधिकृत अधिकारीको भनाई छ । यसै अनुरुप हिलेखर्क गाउँलाई सरसफाईका लागि अलि बढि केन्द्रित गरिएको छ ।

कार्यक्रमममा गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल, वडा अध्यक्ष दिल बहादुर भुजेल, वडा सदस्यहरु, पशु शाखा प्रमुख सुरज कोईराला, कृषी शाखा प्रमुख सौगात जँग थापा, सहास नेपालका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

परियोजना अन्तर्गत विभिन्न समुह तथा समुदायमा समुह अवधारणा, नेतृत्व विकास, मुल्य शृङ्खला, घरेलु जैबिक बिषादी बनाउने, जेन्डर, च्याउ खेती, घरबगैंचा ब्यवस्थापन, किशोरकिशोरी संबाद लगायतका तालिमहरु सञ्चालन भएका छन् भने विभिन्न सहयोग पनि प्रदान हुँदै आएको छ ।

परियोजना अधिकृत अधिकारीका अनुसार विभिन्न समुहका सदस्यहरुलाई आवश्यकताको आधारमा प्लाष्टिक घर थोपा सिंचाई सेट, मौरीको घार, तरकारीको बिउबिजन, प्लाष्टिक मल्चिङ्ग, घरेलु बिषादी बनाउने ड्रम, लोकल कुखुराका चल्ला, आँपको बिरुवा, भाँडा धुने स्ल्याब निर्माण, प्लाष्टिक घर, सुधारिएको धुवाँरहित चुल्हो, लगायत सहयोग हुँदै आएको छ ।