उता निषेधाज्ञा जारी भयो, यता आम उपभोक्ताहरूलाई म्याद गुज्रेका सामग्री बिक्री हुन थाले । तेलको मूल्य बढाउन थाले । चिनी बढेको बढ्यै छ । मदिरा जथाभावी बिक्री हुन थालेको गुनासो गर्न थाले । केही दिनअघि निरीक्षण अधिकृतको जिम्मेवारी पाएको मैले यसअघि अछाममा समेत बजार अनुगमन गर्दाको अनुभवलाई समेटेर बैशाख २८ गतेदेखि अनुगमन सुरू गरेँ । टोलीमा घरेलु कार्यालयका किशोर सापकोटा र राजेन्द्र कोईराला, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ वा अर्जुन सापकोटा वा अन्य प्रतिनिधि, पत्रकार महासंघका राजाराम शर्मा वा अन्य मिडियाकर्मी, उपभोक्ता संस्थाका प्रतिनिधिलाई साथमा लिएर कोरोना महाव्याधिका बाबजुद अनुगमनमा निस्किएँ ।
पहिलो दिनको प्रतिक्रिया राम्रो आयो । उपभोक्ताले फोन गरेर यहाँ, त्यहाँ, यता, उता, यो पसल, त्यो पसल, यो ठाउँ, त्यो गाउँ जताततै अनुगमन गरिदिन आग्रह गर्न थाले । हाम्रो टोलीले साँच्चै उपभोक्ताको वास्तविक माग के रहेछ भन्ने बुझ्यो । हामी अनुगमनमा झन् जोडतोडले होमियौं ।
नियमित अनुगमन गरेको आज ज्येष्ठ १४ गते १८औं दिन । निषेधाज्ञाको कारण बिहान ६ देखि ९ बजेसम्म मात्र खुल्ने अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरू । एउटा पसल अनुगमन गर्न औसतमा आधा घण्टा लाग्ने । थोरै समयका बाबजुद् धेरै पसल अनुगमन गर्नुपर्ने बाध्यता । घाम, पानी, हावाहुरी, नजिक, टाढा केही नहेरी । त्यसमाथि कोरोना संक्रमणको जोखिम। विगतको ७-८ जनाको अनुगमन टोलीलाई ३-४ जनामा झारेको छु । ५-६ जना पनि दुईटा अलग अलग टोली बनाएर जान्छौं । सामाजिक दूरी जो कायम गर्नु छ । भीडभाड बढ्ने र व्यापारीहरू आतंकित हुन सक्ने भएकोले प्रहरी सबै ठाउँमा लिएको छैन । चाहिने भएमात्र लिएको छु । सम्झाई बुझाई गर्ने हो भने प्रहरी नचाहिने रहेछ भन्ने पनि अनुभूति भएको छ ।
अनुगमनको १८औं दिनसम्म आइपुग्दा तीनओटा सार्वजनिक बिदा परे । हामी तीनै दिन अनुगमनमै थियौं । दैनिक न्यूनतम ४ देखि १३ घण्टासम्म अनुगमनमा खटिएका छौं । हालसम्म जिल्लाका १३ मध्ये ११ स्थानीय तहका २०० भन्दा बढी फर्म, पसलहरू अनुगमन गरिसकेका छौं । हुन त अहिले बजार अनुगमन स्थानीय तहले गर्नुपर्ने हो, तर धादिङमा नेत्रावती डबजोङ गाउँपालिका बाहेक अन्य स्थानीय तह आफैले अनुगमन गरेको अहिलेसम्म पाइएको छैन । बरु जिल्लाकै टोलीले विगतमा पनि कहिलेकाँही अनुगमन गरेको भन्ने बुझियो ।
अनुगमन गरेपछि त्रुटि भेटिन्छ, त्रुटि भेटिएपछि कारबाही गर्नुपर्छ । कारबाहीको क्रममा १७ ओटा फर्म, पसलहरुलाई न्यूनतम रू। ५ हजारदेखि ५० हजारसम्म नगद जरिवाना र एउटा पसल १५ दिनको लागि सिल गरिएको छ । जरिवानाबाट २ लाखभन्दा बढी रकम राज्यकोषमा गएको छ ।
१० प्रतिशतभन्दा कम पसलमा म्याद गुज्रिएका सामग्री भेटिएका छैनन् । त्यस्ता पसलका सञ्चालकलाई धन्यवाद दिन बिर्सेका छैनौँ । म्याद गुज्रिएका सामग्री भेटिएका ९० प्रतिशतभन्दा बढी पसलमा कारबाही गरेका छौं । पसलले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि कतिपयले पुरा गरेका छैनन् । टोली आएको शंका गरेर भाग्न खोज्ने, सटर बन्द गर्ने व्यवसायीलाई कुरेर, फकाएर, डर देखाएर, मोबाइल नं. मा आफैले फोन गरेर सम्झाई बुझाई गरेर, गल्ती भएको भए सोको महसुस गराएर पनि अनुगमन गरेका छौं । किनकि कानूनबाट भागेर कोही कतै साँच्चै जान नसक्दो रहेछ ।
अनुगमनको क्रममा ४ लाखभन्दा बढी मूल्यका म्याद गुज्रिएका सामग्री जफत गरिएको छ । एउटै पसलमा २३ थरीका सामग्री जफत गरेको रेकर्ड कायम भएको छ । निषेधाज्ञामा खाद्यान्न बिक्री गर्दै हिँड्ने गाडीबाट कार्टुनका कार्टुन बियर जफत गरिएको छ । जफत खाद्य सामग्रीमध्ये सबैभन्दा बढी बिस्कुट, दोस्रोमा कुरकुरे, पोटेटो क्रेकर, लेजजस्ता खानेकुरा, तेस्रोमा सफ्ट ड्रिंक्सहरु, चौथोमा सुजी र पाँचौमा क्यान जुस जस्ता वस्तुहरु परेका छन् ।
यो विषम परिस्थितिमा अनुगमनको क्रममा कारबाही हाम्रो प्राथमिकता होईन । पहिलो कुरा, आम उपभोक्ताको गुनासो सम्बोधन गर्दै तोकिएको मूल्यमा स्वस्थ्यकर र गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता हो । तर मौकाको फाईदा उठाउँदै अनुचित व्यवसायजन्य क्रियाकलाप गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउनु पनि उत्तिकै जरूरी हो । दोस्रो कुरा, नियमित अनुगमनले उपभोक्ता र व्यवसायीमा सचेतना आएको छ । नागरिक, उपभोक्तामा राज्य भएको अनुभूति दिलाउने सानो प्रयास भएको छ ।
अनुगमनमा यति हिडियो कि, धादिङमा पाइने लगभग हरेकजसो वस्तुको म्याद कति हुन्छ भन्ने जानकारी भईसक्यो । मिनरल वाटर, फेन्टा, कोक, बिस्कुट, कुरकुरे, चिप्स, चामल, बिस्कुट, बियर, चकलेट, हर्लिक्स, मसला, जुस, सूजी आदि आदिमध्ये कुन ? कति समयमा ? म्याद जान्छ जान्ने भइएको छ । सिकाउने भइएको छ ।
त्यसैले अहिले जुनसुकै वस्तु प्रयोग गर्नु अघि म्याद हेर्न मन लाग्छ । हरेक कुरालाई म्यादसँगै जोड्न मन लाग्छ । अस्ति कान्तिपुरकर्मी मित्र पोषनाथ अधिकारीका पिताजीले ूबाबु कति दिन भयो धादिङ आउनुभएको ? भनी सोध्दा जवाफ दिएको सम्झेर बेलाबेला आँफै हाँस्छु ? "धेरै भइसक्यो बुबा, सूजी प्याकिङ गरेको भए एक्सपाएर भइसक्थ्यो । ७५ दिन भयो बुबा ।" हाहाहाहाहा ।