तस्बिरः अमेरिकी दूतावास
काठमाण्डौ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय १८ जना नेपाली स्वदेश आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले १ सय १८ जना नेपाल आइपुगेको बताएको छ ।
अमेरिकी चार्टर्ड बिहानमा उनीहरु बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ८५ मध्ये १ सय १८ जना आज आइपुगेका हुन् । यसअघि विमानस्थल कार्यालयले १ सय २७ जना काठमाण्डौ आइपुगेको जनाएको थियो ।
उनीहरुलाई कुवेतको जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ । स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् । कन्सुलर सेवा विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण टिपाउन सकिन्छ ।