आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गैरआवायीय नेपाली सङ्घको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

गैरआवायीय नेपाली सङ्घको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

नागरिक पाटी

५, भाद्र २०७८
  • 7.5K
    SHARES
  • गैरआवायीय नेपाली सङ्घको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी

    लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

    images

    उनले सन् २०२१/२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए। सङ्घको दशौं अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ ।

    ‘नेपालको संविधान जारी भएको ६ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएका र मैले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छु, म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु’, आचार्यले भने।


    सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनाका साथै सङ्घको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने पनि जनाए। ‘विदेशमा बस्ने नेपालीले पठाएको रकम (विप्रेषण) ले नेपाल को अर्थतन्त्र धानेको छ तर मध्यपूर्व, मलेसियालगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी छ, सङ्घले यस क्षेत्रमा पहल गरिरहेको छ, सबै साझेदारसँग मिलेर ठोस नतिजा देखिने गरी मैले काम गर्ने छु’, उनले भने।

    नेपाल सरकारले मान्यता दिएको एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता छ। अहिले संसारभरि यसका सदस्यको सङ्ख्या १ लाख नाघेको बताइएको छ। ‘अहिले हाम्रो संस्था ८० भन्दा बढी मुलुकमा पुगिसकेको छ, तर केही समस्या पनि देखिएका छन्, केन्द्रले राष्ट्रिय समन्वय परिषद्लाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ, राष्ट्रिय समन्वय परिषद्लाई स्वायत्त, सुदृढ र आत्मनिर्भर बन्न सघाउने मेरो नीति हुने छ’, उनले भने।


    ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा बोकेको एनआरएनएले प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै उनीहरुसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राखेको छ। “एनआरएनएप्रति प्रवासी नेपालीको मात्रै होइन, मातृभूमि नेपाल र नेपालीको पनि उत्तिकै अपेक्षा छ, हामीले ती अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ’, उनले भने। पर्वतको धाइरिङमा जन्मिएका आचार्य गएको दुई दशकभन्दा बढी समयदेखि बेलायतमा बसोबास गर्छन्। उनी एक सफल व्यवसायीको रुपमा पनि चिनिन्छन्।

    ‘सन् २००३ मा अग्रजले सङ्घ स्थापना गर्दा अगाडि सारेको भिजनलाई नै समयानुकूल बनाई आफूले काम गर्ने दृढता रहेको र संसारभरि फैलिएका नेपाली नेपाल समृद्ध भएको हेर्न चाहन्छन्, यसका लागि सङ्घले सक्दो पहल गरिरहेको छ, नेपाल सरकारले यसका लागि उपयुक्त वातावरण बनाई देओस् भन्ने मात्र हाम्रो चाहना हो’, आचार्यले भने। रासस

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - ०७:४५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology