शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुग्यो

बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुग्यो

नागरिक पाटी

५, भाद्र २०७८
  • 4.6K
    SHARES
  • बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुग्यो

    काठमाण्डौं । सत्तामा बसेकाहरूले आर्थिक अनुशासन मिचेर जथाभावी ढंगले खर्च गरेपछि बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ। यो रकम आर्थिक वर्ष २०७६/७७ सम्मको हो। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५८औं वार्षिक प्रतिवेदनअनुसार एक वर्षको अवधिमा एक खर्ब चार अर्ब ३९ करोड रूपैयाँ बेरुजु थपिएको छ। यो संघीय, प्रदेश, स्थानीय तह र अन्य समिति तथा संस्थातर्फ लेखापरीक्षणबाट औंल्याएको बेरुजु हो।

    images
    images

    बेरुजु अघिल्लो आर्थिक वर्षको भन्दा ०.१३ प्रतिशतले बढेर ४ खर्ब १८ अर्ब रूपैयाँ पुगेको हो। यसका अतिरिक्त कारबाही गरी टुंगो लगाउनुपर्ने अद्यावधिक रकम २ खर्ब ५७ अर्ब ५६ करोड पुगेको छ। यस वर्ष महालेखाले संघ, प्रदेश, स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाको समेत गरी ५३ खर्ब २७ अर्ब ९१ करोड रूपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो।

    महालेखाका अनुसार कुल बेरुजुमध्ये संघको दुई खर्ब ३२ अर्ब ५३ करोड, प्रदेशको १२ अर्ब ४७ करोड, स्थानीय तहको एक खर्ब तीन अर्ब तीन करोड र अन्य संस्था तथा समितिको ७० अर्ब ७९ करोड रूपैयाँ छ।

    महालेखाले बेरुजुलाई असुल गर्नुपर्ने, अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको, शोधभर्ना नलिएको र पेस्की बाँकी रहेकोमा वर्गीकरण गरेको छ। जसमध्ये असुल गर्नुपर्ने र अनियमित भएको बेरुजु सोझै आर्थिक नियम कानुन मिचेर गरिएको बदमासी हो। महालेखाको तथ्यांकअनुसार नियमित गर्नुपर्ने ६२ अर्ब २६ करोड ३४ लाख र अनियमित भएको बेरुजु २४ अर्ब ५४ करोड दुई लाख रूपैयाँ छ। कुल बेरुजुमध्ये असुल गर्नुपर्ने २६.१ प्रतिशत पुगेको छ। यस्तै, प्रमाण कागजात पेस नभएको ३७ अर्ब ४५ करोड ५४ लाख रूपैयाँ छ भने १४ अर्ब ९७ करोड १४ लाख पेस्की रकम लिएर फर्छ्याैट नगरेको बेरुजु छ।

    प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गए पनि अघिल्ला वर्षको तुलनामा यो वर्ष बेरुजुको वृद्धिदर भने घटेको छ। संघका कार्यालयको बेरुजु अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेकोमा लेखापरीक्षण गरिएको आव ०७६/७७ मा २.६८ प्रतिशतमा झरेको छ। त्यसैगरी, प्रदेशका कार्यालयको बेरुजु ४.३३ बाट २.७४ प्रतिशत, स्थानीय तहको बेरुजु ५.१५ बाट ५ प्रतिशतमा झरेको छ।

    मुलुक संघीयतामा गएपछि महालेखाले सबै निकायको छुट्टाछुट्टै बेरुजुको रकम निकाल्ने गरेको छ। त्यसअनुसार सबैभन्दा धेरै आर्थिक अनियमितता र बेथिति प्रदेश नम्बर २ मा देखिएको छ। सातवटा प्रदेशमध्ये प्रदेश नम्बर २ आफैं र यसअन्तर्गत रहेका स्थानीय तहहरूमा सबैभन्दा बढी बेथिति देखिएको हो। प्रदेशगत आधारमा तुलना गर्दा प्रदेश २ को बेरुजु ५.६५ प्रतिशत छ। यो सात प्रदेशमध्ये सबैभन्दा बढी हो। सबैभन्दा कम बेरुजु वाग्मतीको १.४२ प्रतिशत छ। महालेखाका अनुसार स्थानीय तहतर्फ पनि सबैभन्दा धेरै बेरुजु प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहमा पाइएको छ। प्रदेश नम्बर २ का स्थानीय तहमा १०.२७ प्रतिशत बेरुजु देखिएको छ। स्थानीय तहमध्ये सबैभन्दा कम गण्डकी प्रदेशका स्थानीय तहमा २.७८ प्रतिशत छ।

    महालेखाले लेखापरीक्षण गरेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पनि सबैभन्दा बढी बेरुजु प्रदेश २ मा नै देखिएको छ। मुलुकका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु जनकपुर उपमहानगरपालिकाको १२.७८ प्रतिशत छ। बुटवल उपमहानगरपालिकाको बेरुजु सबैभन्दा कम १.५६ प्रतिशत छ। महालेखाले लेखापरीक्षण गरेका २ सय ६० नगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु प्रदेश २ कै नगरपालिकाहरूमा देखिएको छ। प्रदेश २ का नगरपालिकाहरूको बेरुजु ८.०६ प्रतिशत छ। सबैभन्दा कम भने गण्डकी प्रदेशभित्रका नगरपालिकाहरूको १.८५ प्रतिशत छ।

    यस्तै, मुलुकका ४ सय ६० गाउँपालिकामध्ये महालेखाले लेखापरीक्षण गरेका ४ सय १७ गाउँपालिकामा सबैभन्दा बढी बेरुजु प्रदेश २ का गाउँपालिकाको छ। प्रदेश २ का गाउँपालिकाको बेरुजु ८.७ प्रतिशत छ। सबैभन्दा कम गण्डकी प्रदेशका गाउँपालिकाको बेरुजु १.८१ प्रतिशत छ। आर्थिक अनियमितताको सवालमा प्रदेश २ का कतिपय कार्यालयमा बेलाबेलामा विवाद आउने गरेका थिए।

    महालेखाको प्रतिवेदनले देखाएका तथ्यांकले अनियमितताकै कारण विवाद भएको पुष्टि गरेको छ। आर्थिक अनुशासनका दृष्टिकोणले विगतका वर्षहरूमा पनि प्रदेश २ को बेरुजु अन्यको भन्दा बढी थियो।

    महालेखाका अनुसार बेरुजुमध्ये भौतिक पूर्वाधार तथा यातायात, रक्षा, सहरी विकास, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका माताहतको कुल बेरुजु ९० अर्ब २८ करोड रूपैयाँ छ। उक्त बेरुजुमध्ये २७ अर्ब १५ करोड तीन लाख मोबिलाइजेसन पेस्की हो। आजको नागरिक दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - ०८:०२:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology