काठमाण्डौं । अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ ।
अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आएका छन् ।
काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको हुँदा बाँकी नेपालीको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको उनले बताइन् ।