आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

३० वर्षमै अतुल्य योगदान गरेका बहुआयामिक मोतीराम

३० वर्षमै अतुल्य योगदान गरेका बहुआयामिक मोतीराम

नागरिक पाटी

२२, भाद्र २०७८
  • 9.5K
    SHARES
  • ३० वर्षमै अतुल्य योगदान गरेका बहुआयामिक मोतीराम

    २३ भदौ १९२३ कुसेऔँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको सुपुत्रका रूपमा जन्मिएका मोतीरामले आफ्नो छोटो जीवनकालमा निकै राम्रा र ऐतिहासिक कार्य गरेका छन् ।

    images

    भक्ति वन्दनामा सीमित नेपाली काव्यपरम्परालाई शृङ्गारमा प्रवेश गराउने मोतीराम उर्दू, हिन्दी साहित्यमा लोकप्रिय काव्य विधा गजललाई नेपाली साहित्यमा भित्र्याउने प्रथम स्रष्टा पनि मानिन्छन् । मोतीरामले पहिलो पटक भानुभक्तको जीवनी लेखेर पहिलो जीवनी लेखक पनि बनेका छन्। नाटक लेखन र निर्देशन, मञ्चनमा पनि उनको क्रियाशीलता देखिन्छ ।

    नेपाली पत्रकारिताका प्रथम व्यक्तित्व पनि मोतीराम नै हुन् । पहिलो पुस्तक प्रकाशकका रूपमा पनि उनलाई नै लिइन्छ भने प्रथम पुस्तकालय स्थापक पनि मोतीराम नै भएको पुष्टि भएको छ ।

    ३० वर्षमै भौतिक जीवन त्यागेका मोतीरामले नेपाली साहित्य, पत्रकारिता, सम्पादन, प्रकाशनमा अग्रणी बनेर सयौँ वर्ष सम्झने काम गरेका छन् ।

    ६ वर्षकै उमेरमा अध्ययनका निम्ति वनारस पुगेका मोतीरामले त्यहाँ फारसी, उर्दू, हिन्दी र संस्कृत भाषाको राम्रो ज्ञान लिने अवसर पाए । उर्दू, हिन्दीका शायरहरूसँगको संगतले उनलाई सशक्त कवि बनाएको पाइन्छ ।

    २१ को उमेरमा वनारसबाट काठमाडौं फर्किएका मोतीराम राणा दरबारमा कवि, साहित्यकारलाई भेला गराएर कविता, गजल सुनाउन थाले । तात्कालीन प्रधानमन्त्री श्री ३ देवशम्शेरको आग्रहमा उनी कविता, गजल सुनाउँथे ।

    मोतीरामका धेरै काम महत्त्वपूर्ण र ऐतिहासिक छन्। उनलाई अमर बनाउने केही कामहरूमा भानुभक्तको जीवनी लेखन, पहिलो नेपाली भाषाको पत्रिका 'गोर्खा भारत जीवन'को प्रकाशन, भानुभक्तीय रामायणको प्रकाशन आदि पर्छन् । उनी आफैँले पनि केही पुस्तक लेखेका छन्। पिकदूत, मनोद्वेग प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, गफास्टक, प्रहह्लाद भक्तिकथा, प्रियदर्शिका, उषाचरित्र, कमल भ्रमर संवाद आदि उनका महत्त्वपूर्ण पुस्तक हुन्।

    मोतीरामले आफूले मात्र लेखेनन्, आफ्ना समकालीन युवा मित्रहरअंलाई समेत कविता, गजल लेखनमा आकर्षित र प्रोत्साहन गरे । केही समकालीन मित्रलाई समेटेर मोतीमण्डलीमार्फत् उनले नेपाली गजलको विस्तार र विकासमा योगदान पनि गरे ।

    त्यस समयका राम्रा कविहरू लक्ष्मीदत्त पन्त इन्दू, गोपीनाथ लोहनी नाथ, नरदेव पाण्डे सूधा, अम्जद हुसैन अञ्जानलगायतका कविहरुलाई भेला गरेर गजल सुन्ने सुनाउने, समस्यापूर्ति गर्ने, कविता काव्यबारे छलफल गर्ने कामसमेत उनले गरेका देखिन्छ ।

    जम्माजम्मी डेढ दशक नेपाली साहित्यसेवामा समर्पण गरेका मोतीराम भट्ट उनले गरेका उल्लेख्य कामका लागि जीवन्त रहे, सधैँका लागि । वि. सं. १९५३ भाद्र कुशेऔँसीकै दिन देहावसान भएका मोतीराम नेपाली साहित्यमा पहिलो शृङ्गारिक कवि, नेपाली साहित्यमा गजल प्रवेश गराउने आदिगजलकार, पहिलो जीवनी लेखक, नाटककार, नाटक निर्देशक, प्रकाशक तथा पत्रकारका रुपमा आफूलाई परिचित गराएर नेपाली साहित्य र पत्रकारितालाई समेत अत्यन्तै ठूलो गुन लगाएका छन् । न्युज कारखाना

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - ११:१७:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology