हिमालसित मेरो साइनो कहिल्यै टुटेन र टुट्ने पनि छैन । २५ वर्ष हिमाल र हिउँको सामिप्यमा जीवनका उर्वर समय बिताउन पाउँदा मैले जीवन र जगतलाई हेर्ने नवीन सोच र उर्जा पाएको छु ।
आज लकडाउनको तेह्रौं दिन। घरीघरी बरण्डा र छतमा गएर हिमाल हेर्छु । कहिल्यै बूढो नहुने हिमाल र कहिल्यै पुरानो नहुने हिउँले मलाई दुस्खकष्ट सहन र शान्त रहन सिकाएका छन् । कहालीलाग्दा ती दिनहरुलाई पनि भोगाईको एक हिस्सा मानेर संस्मरण लेख्न सिकाएका छन् । बडीमालिकादेखि मकालुसम्मका हिमाच्छादित तरेलीहरु हेरेर म दिल फुकाएर हाँस्न नसके पनि व्यथा लुकाएर हाँस्न सक्ने भएको थिएँ । गरिबी र अभावमा हुर्केको मलाई चरम गरिबी र अभावले गाँजेका गाउँबस्तीमा विकासका योजना कार्यन्वयन गर्न गराउन पनि उत्तिकै हम्मेहम्मे परेको थियो । तर आत्मबल र साहश लिएर मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु जस्तो लाग्छ ।
यतिखेर मैले मेरा ती साथीहरु सम्झिरहेको छु , जो कर्तव्य पालनाको शिलशिलामा मृत्युबरण गर्न पुगेका थिए । अहिले आएर कति साथीले पापी कोरोनाका कारण ज्यान गुमाउन पुगेका छन् । कतिले त कोरोनालाई पराजित गरेर घर फर्किसके,कति त अस्पतालमा बसेर संघर्ष गरिरहेका छन् । रोग र कालले कुनै हैसियत र खुबी हेर्दैन, मात्र कमजोरी र लापर्वाही हेर्दो रहेछ ।
भगवानले मलाई यस्तो ज्यान दिएका छन् कि म कहिल्यै बिरामी भएर ओच्छ्यान पर्नु परेन र कहिलै अस्पताल भर्ना हुनु परेन । न त कहिल्यै सिटामोल नै खानुपर्ने अवस्था आइपर्यो । जीवनकालमा ३ पटक सामान्य टाइफाइड भयो ,जसले मेरो श्रवणशक्ति विकृत बनाएर गयो । तर मभित्रको इच्छाशक्तिले मलाई कहिल्यै निराश बन्न दिएन । निरन्तर लागिपरेमा सफलता अवश्यम्भावी छ भन्ने मूल मन्त्रले मलाई सधैं उत्प्रेरित गरिरह्यो । आशावादी दृष्टिकोण लिएर अघि बढिरहे हाँसो खोसिएको मुहारमा कान्ति र चोटले गलाएको मनमा शान्तिको पुनर्स्थापना हुनेछ भन्ने मान्यतामा म अडिग छु ।विवेक विचार नै सत्यताका मापदण्ड हुन् भन्ने कुरालाई म कहिल्यै भुल्ने छैन । रहरहरु पूरा गर्न कहरहरु पनि काट्नु पर्ने रहेछ।जीवनयात्रामा भेटिएका सबै सहयात्रीसँग एकताको डोरी बाट्नु पर्ने रहेछ । अनि विश्वासिला साथीसँग मात्र भावना साट्नु पर्ने रहेछ । अस्तु !मौन