चितवन । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङले लेखेको गीत ‘इच्छाकामना’को भिडियो सार्वजनिक भएको छ। समग्र इच्छाकामना गाउँपालिका क्षेत्रको परिचय बोकेको गीतमा चर्चित गायक तथा संगीतकार चेतन सापकोटाको स्वर तथा संगीत सुन्न सकिन्छ।
गीतमा गाउँपालिकाको कृषि, पर्यटन, भौगोलिक वनावटबारे व्याख्या गरिएको छ। गीतले इच्छाकामना घुम्न आउन सबैलाई आग्रह गरिएको छ। गीतको भिडियोले पनि गाउँपालिकाको सिराइचुली, जलवीरे झरना, इच्छाकामना, तामिन, दाहाखानी, साठीमुरे, मुग्लिन बजार, कुरिनटार, केबुलकार, त्रिशूली, फिस्लिङलगायतका विभिन्न स्थानको दृश्य देखाइएको छ।
गायक तथा संगीतकार सापकोटा आफैँले निर्देशन गरेको भिडियोको छायांकन भने विनोद श्रेष्ठ, राज पोखरेल र अनिल कटुवालले गरेका हुन्। साथीभाइ फिल्म्स् प्रालिले निर्माण गरेको भिडियोको सम्पादन भने प्रतिक ढुंगेलले गरेका छन्।
भिडियोमा गायक तथा संगीतकार चेतन सापकोटाले प्रमुख भूमिका निर्वाह गरेका छन् भने गाउँपालिकाकी अध्यक्ष एवम् गीतका सर्जक गीताकुमारी गुरूङसहित स्थानीय कलाकारहरूलाई देख्न सकिन्छ। गीतको भिडियो सोमबार वी स्टार नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुहोस