पछिल्लो समय मुलुकको व्यापार घाटा अचाक्ली बढेको छ । आयात प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात तीव्र रूपमा बढेपछि घाटा चुलिएको हो ।
चालु आर्थिक वर्षका ७ महिनामा व्यापार घाटा १० खर्ब रुपैयाँ नाघेको भन्सार विभागले मंगलबार सार्वजनिक गरेको विवरणले देखाएको छ ।आर्थिक वर्ष २०७७/७८ को तुलनामा यो रकम ३८.४५ प्रतिशत बढी हो । २०७७/७८ मा व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७२ करोड रहेकामा अहिले बढेर १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
मुलुकबाट करिब १ सय ४८ मुलुकसँग व्यापार हुन्छ । आयातमुखी व्यापार हुँदा धेरैजसो मुलुकसँग व्यापार घाटा छ । ७ महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको आयात भएको विभागको तथ्यांक छ । यो रकम गत वर्षको पहिलो ७ महिनाको तुलनामा ४२.७८ प्रतिशत बढी हो । गत वर्ष ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको आयात भएको थियो । कृषिजन्य वस्तुको आयात बढ्दा व्यापार घाटा उच्च देखिएको जानकारहरू बताउँछन् । ‘भटमास स्वदेशमै उत्पादन गर्न सकिन्छ, व्यावसायिक खेतीको सम्भावना पनि छ । तर, विडम्बना आयात हुने वस्तुमा भटमासको कच्चा पदार्थ दोस्रो स्थानमा छ,’ वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रवि सैंजूले भने, ‘भटमासबाहेक अन्य कृषिजन्य वस्तुको आयात पनि उच्च छ ।’ भन्सार विभागका अनुसार ७ महिनामा ३९ अर्ब ६६ करोडको भटमासको कच्चा पदार्थ आयात भएको छ । गत वर्षको पहिलो ७ महिनामा भने २० अर्ब ९८ करोडको आएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।