शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको मूल्य अचाक्ली महंगो

दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको मूल्य अचाक्ली महंगो

नागरिक पाटी

२६, फाल्गुण २०७८
  • 7.0K
    SHARES
  • दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको मूल्य अचाक्ली महंगो

    युक्रेन र रुसको जारी युद्ध, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, डलर सटही दरको वृद्धि लगायतका कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्मको मूल्य बढाएका छन्। विदेशबाट कच्चा पदार्थ आयात गर्दा मूल्य बढेको बहाना बनाएर व्यापारीले पुरानो स्टक सामान पनि मूल्य बढाएर बेचेका छन्।

    images
    images

    अहिले बजारमा मूल्य नबढेको वस्तु सायद छैन। खाने तेल, चामल, दाल, कुखुराको मासु, डिजेल, पेट्रोलसहित रडको समेत मूल्य बढेको छ। दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थसम्मको भाउ बढ्दा उपभोक्ता मारमा परेका छन्। विशेष गरी विद्यार्थी, निम्न आय भएका, दैनिक ज्यालादारी गरेर खर्च चलाउनेलाई छाक टार्न हम्मे परेको छ।

    खाने तेलको मूल्य लिटरमै ४० रुपैयाँ, चामल बोरामा एक सय ५० देखि दुई सय रुपैयाँ, दाल किलोमा २० रुपैयाँसम्म बढेको छ। फागुन पहिलो साता १६ सय ५० रुपैयाँमा बिक्री भएको जिरा मसिनो चामलको मूल्य बढेर अहिले १८ सय रुपैयाँसम्म पुगेको छ। दुई सय ४० रुपैयाँ लिटरमा बिक्री भएको सनफ्लावर तेलको मूल्य दुई सय ८० रुपैयाँ पुगेको छ। त्यसैगरी दुई सय २० रुपैयाँको भटमासको तेलको मूल्य बढेर दुई सय ५५ रुपैयाँ पुगेको छ।

    बजारमा अधिकांश वस्तुको मूल्य अचाक्ली बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्। ‘बाह्य कारण देखाएर पुरानो स्टक वस्तुको मूल्य बढाइएको छ,’ उनले भने, ‘सरकारको कमजोर नियमन र अनुगमनको फाइदा व्यापारीले उठाए।’ आपूर्ति सहज बनाउन सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए। मूल्य बढेको बहाना देखाए पनि नयाँ कच्चा पदार्थ नआउँदै पुरानो स्टकको मूल्य बढाउने काम भएको उनले बताए।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण डिजेल, पेट्रोलको मूल्य बढे पनि पुरानो स्टक खाने तेलको मूल्यको पनि भाउ बढाइएको छ। यहाँका उद्योगले रुस, युक्रेनलगायतका देशबाट कच्चा पदार्थ आयात गरेर तेल उत्पादन गर्दै आएका थिए।

    दालमा पनि किलोमै २० रुपैयाँसम्म मूल्य बढेको छ। एक सय ६० रुपैयाँ किलोको मासको दाल एक सय ८०, एक सय ७० रुपैयाँको रहर दाल एक सय ९० र एक सय ३० रुपैयाँको मुसुरो दालको मूल्य बढेर एक सय ६० रुपैयाँ पुगेको छ।

    दुई देशबीचको युद्धले आपूर्ति शृंखलामा असर परेपछि त्यसको असर बजारमा परेको हो। पेट्रोलियम पदार्थको मूल्य दुई महिनामा चारपटक बढेको छ। पेट्रोलको मूल्य लिटरको एक सय ५० र डिजेलको मूल्य एक सय ३३ रुपैयाँ पुगेको छ। पेट्रोलियम पदार्थ र डलरको कारणमात्र यति धेरै मूल्य वृद्धि हुन नहुने सरोकारवालाको तर्क छ।

    थोक तथा खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्य अहिले खाद्यान्नको मूल्य बढ्नुपर्ने कुनै कारण देख्दैनन्। रुस र युक्रेन युद्धको बहाना बनाएर मूल्य बढाएको बज्राचार्यले बताए। ‘बजारमा तीन महिनालाई पुग्ने पुरानो स्टक छ,’ बज्राचार्यले भने, ‘ठूला व्यापारीले बहाना बनाएर मूल्य बढाए।’ हल्लाको भरमा मूल्य बढाएको उनको तर्क छ।

    केही तेल उत्पादकले पुरानो उत्पादनलाई बजारमा नपठाएर एमआरपी फेर्ने तयारी गरेको सूचना आएको समेत उनले बताए। ‘दुई सय ४० रुपैयाँको एमआरपी फेरेर दुई सय ७० बनाउन थालेको सुनिन्छ,’ उनले भने, ‘नियमन गर्ने निकायको सक्रियता नहुँदा त्यसको फाइदा ठूला व्यापारीले लिए।’

    एक महिनाकै अन्तरमा बोइलर कुखुराको मासुको मूल्य पनि किलोमा ४० देखि ५० रुपैयाँसम्म बढेको छ। प्रतिकिलो तीन सय ५० देखि तीन सय ६० रुपैयाँमा बिक्री भएको मासुको मूल्य चार सयबाट उकालो लागेको छ। केही समयअघि बर्डफ्लुको हल्लाले किसानले उत्पादन कटौती गरेका थिए। त्यसको असर अहिले मूल्यमा परेको छ। बजार मागअनुसार उत्पादन नभएपछि मूल्य बढेको हो। कोभिडको संक्रमण घटेर होटल, रेस्टुरेन्ट सञ्चालनमा आएपछि मासुको माग पनि बढेको छ।

    नियमनकारी निकायको भूमिका कमजोर भएको उपभोक्ता तथा खुद्रा व्यापारीको आरोप छ। नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक ९पुस मसान्ततसम्मको० अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५।६५ प्रतिशत रहेको छ। गत वर्ष सोही अवधिमा मुद्रास्फीति ३।५६ प्रतिशत थियो। घिउ तथा तेल, यातायात, मदिराजन्य पेयपदार्थ, सुर्तीजन्य वस्तु, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१।२२ प्रतिशत, १४।०७ प्रतिशत, ११।३७ प्रतिशत, १०।४८ प्रतिशत र ९।२२ प्रतिशत रहेको छ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले बजारमा खाने तेललगायतका खाद्यवस्तुको मूल्य वृद्धि भएकाले अनुगमन बढाएको बताए। एमआरपी मूल्यभन्दा धेरै लिएको भए कारबाही गर्ने उनको भनाइ छ। ‘तेलको कच्चा पदार्थको भाउ बढेकाले मूल्य बढाएको बताएका छन्,’ उनले भने, ‘खरिद मूल्यको प्रज्ञापन पत्र माग गरेका छौं।’ बजारको मूल्य र खरिद मूल्य हेरेर तुलना गरी बढी मूल्य लिएको भए कारबाही गर्ने उनले बताए।
    नागरिक दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०८:१३:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology