हाम्रो समाजमा बिभिन्न प्रकारका चोरहरु छन् । कानुनी कठघरामा जाने चोरभन्दा कानुनले केहि गर्न नसक्ने चोरहरु छ्यापछ्याप्ती छन् । धन, गरगहना, सरसामान, यन्त्र उपकरण, सवारी साधन ईत्यादि धन सम्पति सँग सम्बन्धित बस्तुहरु चोर्ने चोरहरु कानुनले देख्ने र चिन्ने चोरहरु हुन् । तर हाम्रो समाजमा यस्ता चोरहरु पनि प्रशस्त छन् जसले समाजमा भित्र भित्रै संजाल बनाइरहेका छन, समाजलाई जेलिरहेछन् र समृद्ध समाजको सपनालाई पछी धकेल्दै छन् । कानुनी नभई नियतिको उपचार गर्न पर्ने यि चोरहरु ठुलो चुनौतिको रुपमा देखापरेका छन् । बजेट चोर कार्यक्रम चोर र प्रविधि चोरहरु जस्ता आर्थिक चोरको संख्या बढ्दो छ । जसले न्यायोचित बितरण, समतामुलक समाज र प्राथमिकता पद्वत विकासको अवधारणा माथि नै प्रहार गरिरहेका छन् ।
पदचोर, टिकट चोर नियुक्त चोर जस्ता राजनैतिक चोर अर्का स्थापित चोरहरु हुन् जसले निष्ठा, योग्यता र कार्यकुशलता माथि धज्जी उडाएका छन् । चोरको प्रकार मध्ये मानविय चोरको त झन बिगबिगी बढ्दो छ । यि मन र बिश्वास चोर्ने चोरहरुलाई न कानुनले देख्छ न समाजले छेक्छ । युवा पङ्तिमा मन चोरको सख्या बढ्दो छ । स्वार्थ को लागी मन र विश्वास चोर्ने अनि स्वार्थ सिद्ध भएपछि मुटुमा प्रहार गर्ने, अरुको जिवनमा परेड खेल्ने, आफु बाटो लाग्ने अरुलाई घरको न घाट बनाउने चोरहरु जसको कारण युवाजोस, जाँगर र सिर्जनालाई तहस नहस पार्ने र मानसिक रोगी देखी आत्महत्या गर्ने व्यक्तिको संख्या बढाउने काम गरिरहेका छन् ।
अर्काथरि चोरहरु छन् सामाजिक चोर यिनिहरु कामचोर, ईज्जत चोर, नेतृत्व चोर हुन् । कार्यालय तथा कार्यस्थलमा काममा ठग्ने सेवा सुबिधा पर्याप्त लिएर जिम्मेवार बहन गर्न पछि हट्ने, नेतृत्व लिन तछाड मछाड गर्ने तर नेतृत्व हात पारेपछी निकम्मा, निरिह र निस्रोक्रा बन्ने चोरहरूले पनि समाज विकासमा अबरोध गरिरहेका छन् । अर्का चोर छन् शैक्षिक चोर । भर्ना चोर, चिटचोर र सम्बन्धन चोर यसका नमुना हुन् । शैक्षिक गुणस्तर सुधारमा यि चोरहरू चुनौतिको रुपमा देखापरेका छन् ।
यि बाहेक पनि समाजको अन्तरकुनामा धेरै चोरहरु लुकेर बसेका छन् जसलाई न राज्यले कार्वाही गर्न सहज छ न चोरहरुको गोष्ठि, प्रशिक्षण र सम्मेलन गरेर चोर विहिन मानसिकता सुधारको लागी अभिमुखिकरण कार्यक्रम गर्न सम्भव छ । समाजमा बसेर धमिरा जस्तै बनि सामाजिक मुल्य मान्यता र एक्काईसौ सताब्दिको विकासको अपेक्षा पुरा हुन, समयसापेक्ष विकासको गति पकड्न यि चोरहरुको निर्मुल हुनु जरुरी छ । बश मान्छे को नियति नै सुधार नभएसम्म चोर प्रवृत्तिको अन्तः हुन सम्भव छैन ।