बेलायत सरकारले नेपाली नर्सलाई शून्य लागतमा रोजगारीमा लैजाने भएको छ । सोमबार बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । बेलायतको स्वास्थ्य सेवामा नेपाली स्वास्थ्यकर्मीको सेवा–सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ ।
नेपालमा स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग र बेलायतको डिमार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको संलग्नतामा सरकारी प्रक्रियाबमोजिम हुनेछ ।
नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने समझदारीपत्रमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एन्ड सेफगार्ड लिस्ट सन् २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने व्यवस्था गरिएको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।